Online News Portal

जसपा नेपालको केन्द्रीय समितिको बैठक तय

काठमाडौं :जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतका अनुसार बैठक साउन २७, २८, २९ र ३० गते ललितपुरको सानोगाउँस्थित थसी ब्याङ्क्वेटमा बस्ने गरी बोलाइएको छ ।

बैठकमा पार्टी एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका, वर्तमान भू–राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्धलगायतका विषयहरुमा अभिमुखिकरणका साथै पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायतका विषयहरुमा छलफल गरी आवश्यक निर्णय लिइने तयारी गरिएको छ ।

केन्द्रीय समितिको पदाधिकारीका लागि उम्मेदवार हुन केन्द्रीय समितिको सदस्य वा प्रदेश/राष्ट्रिय समितिको अध्यक्ष भई कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्ने छ । यसैगरी केन्द्रीय समितिको सदस्यको उम्मेदवार बन्न सङ्गठित पार्टी सदस्य भई कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय समिति वा केन्द्रीय निकाय वा प्रदेश-राष्ट्रिय समितिको सदस्य वा केन्द्रीय विभागको सदस्य वा जिल्ला समितिको पदाधिकारी वा जनवर्गीय सङ्गठनको केन्द्रीय पदाधिकारी भई एक कार्यकाल वा लगातार पाँच वर्षसम्म काम गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

प्रमुख बस्नेतका अनुसार महिला, दलित, श्रमिक, मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम र अपाङ्गता भएका व्यक्तिको हकमा भने लगातार पाँच वर्ष वा एक कार्यकाल जिल्ला समिति वा प्रदेश राष्ट्रिय समिति वा जनवर्गीय सङ्गठनका केन्द्रीय समितिका पदाधिकारी भई काम गरेको भए पुग्ने छ ।