Online News Portal

जय ट्रफी त्रिभुवन आर्मी क्लब र वाग्मती क्लबबीचको खेल ‘ड्र’

काठमाडौं:  मधेसमा जारी जय ट्रफी पुरुष इलाइट कपमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र वाग्मती क्लबबीचको खेल ‘ड्र’ भएको छ ।

बिहीबार धनुषाको जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा सम्पन्न खेलको दोस्रो दिन वाग्मतीले २८.४ ओभरमा पाँच विकेट गुमाएर ८० रन बनाउँदा अम्पायरले खेल अन्त्य भएको घोषणा गरेसँगै यी दुई टिमबीचको प्रतिस्पर्धा ‘ड्र’ मा समाप्त भएको हो ।

 

 

यसअघि पहिलो इनिङमा आर्मीले २७६ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा वाग्मतीले पनि नौ विकेट गुमाएर २०० रन बनाएपछि इनिङ समाप्तिको घोषणा गरेको थियो ।

दोस्रो इनिङमा आर्मीले आठ विकेट गुमाएर १२७ रन बनाउँदा २०३ रनको अग्रता बनाएको थियो । तर, दोस्रो इनिङमा ब्याटिङका निम्ति आएको वाग्मतीले दिनको निर्धारित ६० ओभर खेल्न नपाउँदा खेल बराबरीमा सकिएको हो ।

खेलको पहिलो इनिङमा आर्मीका बसिर अहमेदले ५३ रन बनाएका थिए । दोस्रो इनिङमा आर्मीका मयनले अर्धशतक बनाए ।

वाग्मतीबाट भने ब्याटिङतर्फ दुवै इनिङमा कुनै पनि ब्याटर अर्धशतकसम्म पुग्न सकेनन् ।

दुवै टिमको यो दोस्रो बराबरी हो । यसअघि आर्मीले अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग ‘ड्र’ खेलेको थियो । यता, वाग्मतीले भने पहिलो खेलमा मधेश प्रदेशसँग बराबरी खेलेको थियो ।

Advertisement

Click the button below to skip this ad and read the full article.