Online News Portal

चार सय वर्ष पुरानो मन्दिरको जिर्णोद्धार सम्पन्न

काठमाडौँ: मध्यपुरथिमि नगरपालिका‐५ कमेरोटारमा चार सय वर्ष पुरानो रक्तकालीको मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ ।

कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र पर्ने उक्त मन्दिरको जीर्णोद्धारका लागि आयोजनाको रु ४९ लाख र स्थानीय उपभोक्ता समितिको रु दुई लाख गरी कूल रु ५१ लाखमा निर्माण सम्पन्न भएको रक्तकाली पुनःनिर्माण समितिका अध्यक्ष मधु वनले बताउनुभयो ।

विगत आठ पुस्ता अगाडिदेखि स्थानीय वन परिवारले पुज्दै र संरक्षण गर्दै आएको उक्त मन्दिर जीर्ण भएपछि अहिले आयोजनाको सहयोगमा परम्परागत एवं मल्लकालीन शैलीमा निर्माण सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

कुल सात आना क्षेत्रफल जग्गामा पुनःनिर्माण भएको रक्तकाली मन्दिरसँगै अन्य विभिन्न देवीदेवताका मन्दिरसमेत गरी मन्दिरको मूलद्वारलगायत सबै संरचना परम्परागत शैलीमा निर्माण सम्पन्न गरिएको समितिका सचिव मिनुकुमारी गिरीले जानकारी दिनुभयो ।

मन्दिरसँगै खाली रहेको जग्गामा परम्परागत शैलीमा फल्चा अर्थात् पाटी निर्माणको तयारी भइरहेको जानकारी दिँदै समितिका अध्यक्ष वनले आयोजनाले विनियोजन गर्ने यस वर्षको बजेटले पाटी निर्माण सम्पन्न गर्ने बताउनुभयो । मन्दिरमा ठूलो पीपलको रूखको संरक्षण गर्नाका साथै परम्परागत शैलीमा गणेश, शिवलिङ्ग, लक्ष्मी, सरस्वती, बङ्गलामुखी, सप्तऋषि, हनुमान, गरुड, अष्टचिरिञ्जीवी, सिद्धिविनायक, भैरव, सूर्यदेव, दोलखा भीमसेन, दक्षिणकालीलगायत विभिन्न देवीदेवताका साना मन्दिर निर्माण गरी मूर्ति स्थापना गरिएको छ ।

Advertisement

Click the button below to skip this ad and read the full article.