Online News Portal

गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ: यही भदौ ३ गते जनैपूर्णिमाका दिन लाग्ने गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीर्थालु भक्तजनलाई रातिको समयमा उज्यालो पुर्याउने उद्देश्यले पहिलो पटक बिजुली बत्ती बालिएको छ ।

धार्मिक एवम् पर्यटकीय गन्तव्यका रुपमा रहेको गोसाइँकुण्डमा मेलाको तयारीसँगै बिजुली बलेपछि तीर्थालु तथा स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् । वि.सं.२०३८ मा जिल्लामा विद्युत सेवा विस्तार भएपनि गोसाइँकुण्डमा पहिलो पटक शुक्रबार विद्युत लाइन सञ्चालन गरिएको हो ।

नेपाल विद्युत प्राधिकरण रसुवा शाखाका प्रमुख सञ्जिप भट्टराईका अनुसार गणेश गौडा बुद्व मन्दिर र गोसाइँकुण्डमा दुई सय भन्दाबढी बत्ती बालिसकिएको छ । यहाँ बिजुली पुर्याउन सहयोग गर्ने लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय तथा निकुञ्ज विभाग, जिल्ला प्रशासन कार्यालय, नागरिक समाज, गोसाइँकुण्ड गाउँपालिकालगायत सरोकार भएका निकाय तथा स्थानीयले सहयोग गरेका उहाँले बताउनुभयो ।

चन्दनबारीबाट कुण्डसम्म १४ किलोमिटर विद्युत लाइन निर्माण गरी मेलालाई थप व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले बिजुली बत्ती पुुर्याइएको प्रमुख भट्टराइले उल्लेख गर्नुभयो । विद्युत लाइन विस्तारसँगै खाना पकाउन तथा दैनिक कार्यमा सहजता आउनका साथै वन पैदावारको व्यायभारमा शून्यता आई वन तथा वनस्पति संरक्षणमा सहयोग पुग्ने स्थानीयले बताएका छन् ।

विद्युत् सेवा विस्तार भएसँगै तीर्थ जाँदा लेक लागेका यात्रुलाई शुक्रबारदेखि नै विद्युतको सहायतबाट अक्सिजन दिन सुरु गरिएको गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घले जनाएको छ । सङ्घबाट खटाएका चिकित्सक टोलीले प्राथमिक उपचार सेवा प्रदान गरिरहेको बताउँदै शुक्रबार साँझसम्म एक सय ५० जना यात्रीलाई अक्सिजन दिइएको सङ्घका व्यवस्थापक प्रकास खत्रीले जानकारी दिनुभयो ।