गृहमन्त्रीद्वारा स्ववियू निर्वाचन शान्तिपूर्ण बनाउन प्रहरीलाई निर्देशन

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन्।
बुधबार बिहान गृह मन्त्रालयमा आयोजित बैठकमा उनले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरूलाई मुलुकका विभिन्न क्याम्पसहरूमा हुने स्ववियू निर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्ध मजबुत बनाउन निर्देशन दिए।
साथै, प्रत्येक जिल्लामा जिल्ला प्रहरी कार्यालयमा स्ववियू निर्वाचनका लागि सम्पर्क व्यक्ति तोकी क्याम्पस र सुरक्षा संयन्त्रसँग समन्वय गर्न आग्रह गरे। उनले प्रहरी प्रधान कार्यालयमा निर्वाचन समन्वयका लागि टिम गठन गर्न र सशस्त्र प्रहरी बलसँग समन्वय गरी काम कारबाही अघि बढाउन पनि निर्देशन दिए। मन्त्री लेखकले स्ववियू निर्वाचनलाई आम निर्वाचन जत्तिकै गम्भीर रूपमा लिएर सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरे।