काठमाडौँ: देशले अब प्रत्यक्ष कार्यकारी प्रमुख, प्रत्यक्ष निर्वाचन प्रणाली, प्रदेश संरचनाको विघटन र स्थानीय संरचनालाई थप मजबुत बनाउने गरी संविधान संशोधन हुनुपर्ने आवश्यकता महसुस गरिरहेको छ । यस्तो प्रकारको व्यवस्था ठीक हुन सक्छ भन्ने कुरामा सबैको भित्री मनले भनिरहेको पनि छ तर दलगत तथा व्यक्तिगत स्वार्थका कारण कसैले व्यक्त गर्न सकिरहेको छैन । जसले व्यक्त गरेको छ, उसको आवाज मधुरो रहेको छ ।
यसै सिलसिलामा अब बन्ने नयाँ गठबन्धनको सरकारका विषयमा व्यापक बहस भइरहेका छन् । निर्वाचनलगत्तै यो गठबन्धन बनेको भए जनताको आकांक्षाअनुसारको सरकार बन्ने थियो र केही स्थायी प्रकृतिको पनि हुने थियो भन्ने चर्चा छ भने अहिले धेरै हन्डर खाएपछि र प्रचण्डले अस्थिर खेल खेल्न थालेपछि मात्र दुवै दलको होस आएर यो गठबन्धन बनेको हो भन्ने आम बुझाइ छ ।पवित्र भावनाका साथ दीर्घकालीन विकास, स्थिरता र सुशासनका लागि यो सरकार बनेकै रहेछ भने पनि के अन्तिम अवधिसम्म यो सरकार टिक्न सक्ला त भन्ने पनि आशंका छ । ओली र देउवाको स्वभाव बुझिसकेका जनताले यी दुई नेताको मिलन पनि क्षणिक हुनेमा ढुक्क छन् । यसरी भर्खर गठबन्धन बन्दैमा धेरै आशंका नगरौं ।