काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा खानेपानी, सरसफाइ र स्वच्छता (WASH) क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्न सबै राजनीतिक दल, सरकारका तीनै तह र सरोकारवालाहरूलाई सहकार्य गर्न आग्रह गरेका छन्। उनले सबै दलका नेताहरूलाई पत्राचार गर्दै खानेपानी र स्वच्छता सुधारका लागि समन्वय र सहकार्य आवश्यक रहेको बताए।
मन्त्री यादवले सातै प्रदेशका मुख्यमन्त्रीहरूको नेतृत्वमा बैठक आयोजना गर्ने, संसद र मन्त्रिपरिषद्मा खानेपानी तथा सरसफाइका विषय उठाउने, र समावेशी तथा जलवायु अनुकूल सरसफाइ रणनीति निर्माण गर्ने योजना अघि सारेका छन्। उनले सामुदायिक खानेपानी प्रणालीमा लाग्ने कर खारेज गर्ने, मेलम्ची खानेपानी सेवा चन्द्रागिरि नगरपालिकासम्म विस्तार गर्ने, र खानेपानी तथा सरसफाइ मन्त्रालय गठनको पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले स्वच्छ खानेपानी र सरसफाइ स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता र समावेशी विकासमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस क्षेत्रलाई राजनीतिक प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिए। मन्त्री यादवले सन् २०३० सम्म सबै नागरिकलाई सुरक्षित पानी र सरसफाइको पहुँच पुर्याउने लक्ष्य प्राप्त गर्न बजेट, योजना कार्यान्वयन र राजनीतिक इच्छाशक्तिको अभावले चुनौतीहरू रहेको बताए।