काठमाडौँ: ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र नेपालको कार्य क्षेत्रमा सञ्चालित विद्यालयमध्ये सरस्वती माध्यमिक विद्यालय तापेथोक र रानी आधारभुत विद्यालय खानी यो वर्षका उत्कृष्ट घोषित भएका छन् । यी दुवै फक्ताङलुङ गाउँपालिकाका विद्यालय हुन् । उनीहरुले ४५ हजारका दरले पुरस्कार पनि प्राप्त गरेका छन् । २०८० सालको शैक्षिक गतिविधि, विद्यालयको नियमितता, लगनशिलता लगायतका क्षेत्रलाई आधार मानेर पुरस्कृत गरेको हो । रिडले यो पुरस्कार ८ वर्षदेखि प्रदान गर्दै आएको छ । विद्यालयको अलावा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक र बिद्यार्थीहरु समेत पुरस्कृत हुने गरेका छन् । फक्ताङलुङ गाउँपालिका-४ इखाबुको रानी आधारभूत विद्यालय आठ वर्षदेखि उत्कृष्ट हुँदै आएको थियो ।
यो पटक भने सरस्वती माध्यमिक विद्यालयले पनि समान अंक प्राप्त गरेपछि दुबै विद्यालयलाई ‘बेष्ट पर्फमिङ विद्यालय’ को रुपमा पुरस्कृत गरिएको रिड नेपालका प्रबन्धक राजेन्द्र पन्तले जानकारी दिए ।