काठमाडौँ: ताप्लेजुङको पाथीभरा क्षेत्रमा व्यवसायी चन्द्र ढकालको समूहले केबलकार निर्माण सुरु गरेपछि पहिचान पक्षधर आन्दोलनमा संलग्न भएको छ। शनिबार साँझ फुङलिङ बजारमा प्रहरीसँगको झडपका क्रममा प्रदर्शनकारीले नागरिकको घरमा आगोको राँको फालेका थिए। फुङलिङमा केबलकारको पक्ष र विपक्षमा प्रदर्शनहरू जारी छन्।
आन्दोलनरत पक्षले मन्त्रीस्तरमा वार्ताको माग गर्दै आन्दोलन जारी राखेको छ। सरकारले सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा समिति गठन गरे पनि सहमति नभएपछि आन्दोलनकारीले मन्त्रीस्तरको वार्तासमितिको माग गर्दै थप आन्दोलन घोषणा गरेका छन्।
आइतबार माओवादी कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङले विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षको माग सम्बोधनका लागि राजनीतिक स्तरमा समिति गठन गर्न आग्रह गरेका छन्। उनले प्रशासनिक दमनको निन्दा गर्दै सरकार र आन्दोलनकारी दुवै पक्षलाई संयमताका साथ वार्ताबाट समस्याको समाधान खोज्न अपिल गरेका छन्। साथै, माओवादीले प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरूले तनाब कम गर्नुपर्ने जिम्मेवारी पूरा नगरेको र बरु उत्तेजना बढाउने काम गरिरहेको दाबी गरेको छ।