एसईईमा नेपाल वेदविधा आश्रमको चम्किलो सफलता, ८५ प्रतिशतले ए प्लस

काठमाडौँ : पशुपति क्षेत्र विकास कोषअन्तर्गत सञ्चालित नेपाल वेदविधा आश्रम संस्कृति माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ऐतिहासिक सफलता हात पारेको छ।
विद्यालयका जम्मा १४ परीक्षार्थीमध्ये ११ जनाले ए प्लस र ३ जनाले ए ग्रेड ल्याउँदै शतप्रतिशत उत्तीर्ण दर कायम गरेका छन्। संस्कृत भाषा र साहित्यमा आधारित शिक्षालयले ८५ प्रतिशतभन्दा बढी विद्यार्थीलाई ए प्लसमा पुर्याउँदै उदाहरणीय उपलब्धि हासिल गरेको हो।
विद्यालयको यो सफलताप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एक औपचारिक कार्यक्रममार्फत बधाई तथा शुभकामना दिएका छन्। उनले भने,
“संस्कृत व्याकरण र साहित्यजस्ता जटिल विषयमा पनि ३.९५ सम्मको जीपीए ल्याउनु साँच्चिकै गर्वको कुरा हो।”
मन्त्री पाण्डेले संस्कृत शिक्षामा देखिएको उत्साहलाई उज्यालो सम्भावनाको रूपमा व्याख्या गर्दै वेदविधा आश्रमले प्रस्तुत गरेको नतिजा संस्थागत प्रतिबद्धताको सशक्त उदाहरण भएको उल्लेख गरे।
कार्यक्रममा कोषका निमित्त सचिव सुभाष जोशीले विद्यालयको प्रगति र संस्कृत शिक्षाको प्रवर्द्धनमा निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गरे।
विद्यालयका प्राचार्य केशवप्रसाद अधिकारीका अनुसार विद्यालयले विगत १० वर्षदेखि शतप्रतिशत उत्तीर्ण दर कायम राख्दै आएको छ। हाल कक्षा ४ देखि १२ सम्म अध्यापन हुँदै आएको र १०९ जना छात्र छात्रावासमा तथा २१५ जना छात्र बाहिरबाट अध्ययनरत छन्।
१५ जना शिक्षकहरूमध्ये ७ जना आंशिक र प्राचार्य स्वयं मात्र स्थायी शिक्षक रहेका विद्यालयले सीमित स्रोतसाधनबीच पनि संस्कृत अध्ययनमा विद्यार्थीको आकर्षण बढाउँदै लगेको उनले बताए।