Online News Portal

एनपीएल–२: लुम्बिनी बनाम जनकपुरको भिडन्तले पल्टाउने छ प्लेअफको गणित, चार टीमको आशा जीवित

काठमाडौं :  नेपाल प्रिमियर लिग (एनपीएल)–२ मा प्लेअफ प्रवेश गर्ने तीन टोलीको टुंगो लागिसके पनि बाँकी एक स्थानका लागि प्रतिस्पर्धा झनै रोचक बन्दै गएको छ। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र विराटनगर किङ्स पहिले नै प्लेअफ सुरक्षित गरिसकेका छन्, भने चौथो स्थानको दौडमा लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, पोखरा राइनोज र चितवन टाइगर्स जुझिरहेका छन्।

सुदूरपश्चिमले समूह चरणमा खेलेका सबै ६ खेल जितेर क्यालिफायरको टिकट सुनिश्चित गरिसकेको छ। समूहको शीर्ष दुई टोलीले क्यालिफायर खेल्नेछन्, जसमा हार्ने टोलीले दोस्रो अवसर पाउनेछ। तेस्रो र चौथो स्थानमा रहने टोलीले इलिमिनेटर खेल्नेछन्, जहाँ हार्ने टोली टुर्नामेन्टबाट बाहिरिनेछ।

आज हुने लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीचको भिडन्त प्लेअफको समीकरणमा निर्णायक बन्ने सम्भावना छ।

  • लुम्बिनीले जितेमा: उसले ८ अंक बनाउनेछ र जनकपुर, पोखरा तथा चितवन तीनै टोलीको प्लेअफको आशा समाप्त हुनेछ।

  • जनकपुरले जितेमा: चारै टोलीको सम्भावना खुला रहनेछ। जनकपुरले बाँकी दुवै खेल जित्नै पर्ने दबाब रहनेछ, त्यो पनि उत्कृष्ट रनरेटसहित।

भोलि समूह चरणमा दुई महत्वपूर्ण खेल हुनेछन्।
पहिलो खेलमा विराटनगर र सुदूरपश्चिम भिड्नेछन्—सुदूरपश्चिमका लागि परिणामको खास महत्व नभए पनि विराटनगरले ठूलो अन्तरमा जिते दोस्रो स्थानमा उक्लिने अवसर पाउनेछ। हार भए इलिमिनेटरमा धकेलिन सक्छ।

दोस्रो खेलमा चितवन र पोखरा आमनेसामने हुनेछन्। आज लुम्बिनीले जिते यो खेल अर्थहीन हुनेछ, तर लुम्बिनी हारेमा दुवै टोली ठूलो अन्तरले जित्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

समूह चरणको अन्तिम खेल पर्सि जनकपुर र कर्णाली याक्सबीच हुनेछ। कर्णालीअघि नै बाहिरिसकेकोले यो खेल उसकै लागि मात्र प्रतिष्ठाको विषय हो। तर आज जनकपुरले जितेमा त्यस दिनको खेलले प्लेअफको अन्तिम स्थानको छिनोफानो गर्न सक्छ।

एनपीएल–२ को प्लेअफ गणित आजको परिणामसँगै झनै स्पष्ट हुँदै जाने छ।

Advertisement

Click the button below to skip this ad and read the full article.