काठमाडौँ : पोखरा विश्वविद्यालयले छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि एक हजार दुई सय ९९ कोटाको दरखास्त आह्वान गरेको छ ।
अनलाइन विधिबाट दरखास्त दिन सक्नेगरी विश्वविद्यालयले सूचना प्रकाशित गर्दै विश्वविद्यालयमा सञ्चालित स्नातकतहका विभिन्न सङ्कायमा छात्रवृत्ति आव्हान गरेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।
विश्वविद्यालयले विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गत सञ्चालित बिई कम्प्युटर, बिई आर्किटेक्चर, बिई सिभिल, बिई सिभिल (रुरल), बिई इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, बिई इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, बिई सफ्टवेयर, बिई आइटी र बिई सिभिल डिप्लोमा होल्डर्स, बिसिए र बिएस्सी इन्भाइरोन्मेन्ट कार्यक्रममा चार सय ९० कोटाका लागि दरखास्त आह्वान गरेको छ ।
व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालित बिबिए, बिबिए (फाइनान्स), बिसिएस आइटी, बिएचसिएम, बिएचएम र बिबिए टीटी कार्यक्रममा सात सय ७० कोटा तथा मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत सञ्चालित बिडेभ्स, बिइसिएस र बिएएलएलबी कार्यक्रममा ३९ कोटाका लागि दरखास्त आह्वान गरेको ढकालले जानकारी दिए ।