Online News Portal

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदूत सोङको शिष्टाचार भेट

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन्। उद्योग मन्त्रालयमा बुधबार भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध ऐतिहासिक तथा राजनीतिक एवं सांस्कृतिक रुपमा पनि निकै घनिभूत रहेको बताए ।

नेपाल चीनको शान्ति,स्थायित्व एवं विकासमा योगदान गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउँदै मन्त्री भण्डारीले पछिल्ला वर्षहरूमा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रवद्र्धन गर्न महत्वपूर्ण उच्चस्तरीय भ्रमणहरुको आदानप्रदान भएको बताए।

‘यस्ता उच्चस्तरीय भ्रमणहरुका क्रममा व्यापार,‘कनेक्टिभिटी’ र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ पार्ने उद्देश्यले धेरै सहमति तथा समझदारीहरू भएका छन्, यस्ता किसिमका भ्रमणको आदानप्रदानले दुई देशबीचको सम्बन्ध र सहयोगका क्षेत्रहरु थप विस्तारित र समृद्ध हुनेमा म विश्वस्त छु,’मन्त्री भण्डारीले भने।

नेपालको सामाजिक तथा आर्थिक विकासका लागि चीन महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको उनले बताए । उनले भने, ‘व्यापारको क्षेत्रमा चीन नेपालको दोस्रो ठूलो साझेदार हो भने वैदेशिक लगानीका क्षेत्रमा पहिलो लगानीकर्ता मुलुक हो,नेपालको भौतिक तथा व्यापार ‘लजिस्टिक्स’ पूर्वाधार, अन्तर–आबद्धता, ऊर्जा, व्यापार, कृषि तथा औद्योगिक विकासका क्षेत्रमा चीनले खलेको महत्वपूर्ण भूमिकाको सरहाना गर्न चाहन्छु ।’

मन्त्री भण्डारीले द्विपक्षीय नाकाहरु पुनः सञ्चालनमा आएपछि दुई देशीय व्यापारको मात्रा उल्लेख्य रूपमा बढेको उल्लेख गरे । दोस्रो ठूलो व्यापार साझेदार भए पनि आयात र निर्यातबीच ठूलो खाडल देखिएको उनको भनाइ छ ।

Advertisement

Click the button below to skip this ad and read the full article.