उत्तराखण्डको उत्तरकाशीमा बाढी र पहिरोको कहर: ४ को मृत्यु, दर्जनौं बेपत्ता

काठमाडौँ : भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा आएको भीषण बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ।
मंगलबार दिउँसो खीर गंगा क्षेत्रमा आएको बाढीले धराली गाउँमा ठूलो क्षति पुर्याएको हो।
प्रहरी र प्रशासनका अनुसार कम्तीमा ४ जनाको ज्यान गएको पुष्टि भएको छ भने ६० देखि ७० जना अझै बेपत्ता छन्। उद्धार प्रयास जारी छ।
भारतीय समय अनुसार दिउँसो २ बजे आसपास खीर गंगा खोलामा एक्कासि पानीको सतह बढेपछि बाढी बस्तीमा पस्यो।
यसले धराली गाउँ, जुन पर्यटकीय गन्तव्यका रूपमा चिनिन्छ, त्यस क्षेत्रमा ठूलो विध्वंस ल्यायो।
उत्तरकाशीका जिल्ला अधिकारी प्रशान्त आर्यका अनुसार बाढी र पहिरोले धेरैजसो होटल, होमस्टे, बजार क्षेत्र र निजी आवासहरूमा क्षति पुर्याएको छ।
पर्यटकहरू बसोबास गरिरहेको क्षेत्रमै पानी पसेपछि धेरै मानिस सम्पर्कविहीन भएका छन्।
भारतीय सुरक्षा निकायहरू, एनडीआरएफ (National Disaster Response Force) र राज्य प्रहरी बलको टोलीले रातभर उद्धार कार्य जारी राखेको छ।
अत्यधिक वर्षाका कारण बाटो अबरुद्ध भएको र सञ्चार प्रणाली प्रभावित भएकाले उद्धार कार्यमा ढिलाइ भइरहेको अधिकारीहरूले बताएका छन्।
स्थानीय बासिन्दा र सञ्चारमाध्यमका अनुसार, बाढीका कारण मोबाइल नेटवर्क, बिजुली र इन्टरनेट सेवा प्रभावित भएको छ।
त्यसैले क्षतिको ठ्याक्कै विवरण आउन अझै केही दिन लाग्न सक्छ।
भारतीय समाचार च्यानल ‘आज तक’ को रिपोर्ट अनुसार, बाढीले घर, होटल र बजार क्षेत्र बगाएको पुष्टि भएको छ।
जसले गर्दा सम्पर्कविहीनको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
उत्तराखण्ड विगत केही वर्षदेखि प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको क्षेत्र हो।
बर्खायामको समयमा यो राज्यमा हरेक वर्ष बाढी, पहिरो, र नदी कटानका घटनाहरू हुने गर्छन्।
उत्तरकाशीमा आएको यो विपद्ले फेरि एकपटक भारतको हिमाली क्षेत्रको नाजुक भौगोलिक अवस्था र कमजोर पूर्वतयारीलाई उजागर गरेको छ।
अहिलेसम्मको जानकारीअनुसार जनधनको क्षति गम्भीर छ — अझै विस्तृत विवरण आउन बाँकी छ।