इटालीमा अवैध शरणार्थी आगमनमा ६० प्रतिशत कमी

काठमाडौँ; इटालीमा आप्रवासी आगमन सन् २०२३ को सोही अवधिको तुलनामा यस वर्ष अहिलेसम्म ६० प्रतिशतले घटेको इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले बताउनुभएको छ । यो प्रवृत्ति उत्तर अफ्रिकी राज्यहरूसँग इटालीको सम्झौताका कारण भएको प्रधानमन्त्रीले बताउनु भयो । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको तथ्याङ्कले मेलोनीको दाबीलाई समर्थन गरेको देखिन्छ । जसमा २१ हजार भन्दा बढी शरणार्थीहरू वर्षको पहिलो पाँच महिनामा इटालीमा आएका छन् । यो गत वर्षको सोही अवधिमा झन्डै ५० हजार ४ सयको तुलनामा ५८.३ प्रतिशतले घटेको हो । मेलोनीले अल्बानियामा नयाँ आप्रवासी आगमनलाई प्रशोधन गर्न एक विवादास्पद सम्झौतामा पनि हस्ताक्षर गर्नुभयो । शरणार्थी आगमन संख्यामा गिरावटको बारेमा इटालीका प्रधानमन्त्रीको घोषणा उहाँको राजनीतिक दल र अन्य दलहरूले युरोपेली संसदको स्थानीय चुनावमा प्रचार गरिरहेका बेला आएको हो । भोटिङ जुन ६ देखि ९ सम्म हुने तय भएको छ । बसाईसराइको मुद्दा अभियानको तातो मुद्दामध्ये एक हुने अपेक्षा गरिएको छ ।