Online News Portal

अटिजम भएका बालबालिकाको जीवन सहज बनाउन अभिभावकको भूमिका निर्णायक

काठमाडौँ : पछिल्लो समय बालबालिकामा अटिजम स्पेक्ट्रम डिसअर्डर (ASD) को समस्या बढ्दै गएको चिकित्सकहरू बताउँछन्। अटिजम स्नायु तथा विकाससम्बन्धी अवस्था हो, जसको पहिचान विशेष परीक्षणभन्दा पनि बालबालिका, अभिभावक र चिकित्सकबीचको अन्तर्क्रियाका आधारमा गरिन्छ। गर्भावस्थामै अटिजम पत्ता लगाउने प्रविधि हालसम्म विकास भएको छैन।

बाल मनोचिकित्सक डा. उत्कर्ष कार्कीका अनुसार अटिजम जन्मजात अवस्था हो, जसको लक्षण प्रायः बच्चा एक वर्षपछि देखिन थाल्छ। आँखामा आँखा नजुधाउने, बोलाउँदा प्रतिक्रिया नदिने, बोली विकासमा ढिलाइ हुने जस्ता व्यवहारले अटिजमको संकेत दिन सक्छन्। यसलाई पूर्ण रूपमा निको पार्ने औषधि नभए पनि समयमै पहिचान, तालिम र विभिन्न थेरापीमार्फत बालबालिकाको जीवन सहज बनाउन सकिन्छ।

अटिजम भएका बालबालिकाको विकास र आत्मनिर्भरता बढाउन अभिभावकको निरन्तर सहयोग, धैर्य र सक्रिय भूमिका अत्यन्त महत्वपूर्ण हुने डा. कार्की बताउँछन्। उमेरअनुसारको थेरापी, उचित वातावरण र विद्यालय छनोटले बालबालिकाको क्षमता विकासमा सहयोग पुर्‍याउँछ। नेपालमा कान्ति बाल अस्पताल तथा केही निजी संस्थाबाट अभिभावक र बालबालिकाका लागि तालिम र सेवा उपलब्ध छन्।

विशेषज्ञहरूका अनुसार गर्भावस्थामा स्वस्थ जीवनशैली अपनाउने, तनाव कम गर्ने र चिकित्सकको सल्लाहअनुसार मात्रै औषधि सेवन गर्ने हो भने अटिजमको जोखिम केही हदसम्म घटाउन सकिन्छ।

Advertisement

Click the button below to skip this ad and read the full article.