बालविवाह र अन्धविश्वासले बढायो अछाममा मृत शिशु जन्मिने समस्या

काठमाडौं :  सुदूरपश्चिमको अछाम जिल्लामा बालविवाह, कुपोषण, स्वास्थ्य सेवामा ढिलाइ तथा अन्धविश्वासका कारण मृत शिशु जन्मिने (स्टिलबर्थ) घटनाहरू अझै चिन्ताजनक अवस्थामा रहेको पाइएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार किशोरावस्थामै गर्भधारण, नियमित स्वास्थ्य परीक्षणको अभाव र उपचारभन्दा धामी–झाँक्रीमा बढी विश्वास गर्ने प्रवृत्तिले समस्या जटिल बनाएको हो।

अछामको दुर्गम तुर्माखाँद गाउँपालिका–४ की एक किशोरीले १४ वर्षकै उमेरमा विवाह गरिन्। दुई वर्षपछि गर्भवती बनेकी उनी शारीरिक तथा मानसिक रूपमा मातृत्वका लागि तयार थिइनन्। गर्भावस्थामा पनि घरायसी तथा कृषि कार्यको भारी बोझ बोक्नुपरेको थियो।

सुत्केरी हुने समय बितिसक्दा पनि प्रसव पीडा नलागेपछि उनलाई जिल्ला अस्पताल अछाम पठाइएको थियो। अस्पतालमा चिकित्सकहरूले शल्यक्रियामार्फत तत्काल प्रसूति गराउन सुझाव दिए पनि परिवारको दबाबका कारण उनी उपचार नगरी घर फर्किइन्। परिवारले उनलाई धामी–झाँक्रीकहाँ लगेर देवी–देवताको रिसका कारण समस्या भएको भन्दै पूजा–पाठसमेत गराएको थियो।

एक सातापछि पुनः अस्पताल पुग्दा गर्भमै शिशुको मृत्यु भइसकेको थियो। अन्ततः उनले मृत शिशु जन्माउन बाध्य भइन्।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८२/८३ सम्म अछाममा कुल ३६२ वटा मृत शिशु जन्मिएका छन्। तीमध्ये १७३ वटा प्रसूतिको क्रममा र १८९ वटा गर्भमै मृत्यु भएका घटनाहरू हुन्।

वार्षिक रूपमा हेर्दा आर्थिक वर्ष २०७७/७८ मा १०९, २०७८/७९ मा ८६, २०७९/८० मा ५९, २०८०/८१ मा ३६, २०८१/८२ मा ३९ र चालु आर्थिक वर्षमा हालसम्म ३३ वटा मृत शिशु जन्मिएका छन्।

स्वास्थ्यकर्मीहरूका अनुसार बालविवाहसँगै बारम्बार गर्भधारण, पर्याप्त पोषणको अभाव र छोराको चाहनाले पनि महिलाहरू जोखिममा पर्ने गरेका छन्।

धाकारी गाउँपालिकाकी ३८ वर्षीया एक महिलाले छैटौं सन्तान जन्माउने क्रममा मृत शिशु जन्माइन्। पाँच छोरीपछि छोरा जन्माउने सामाजिक दबाबका बीच उनले घरमै १२ घण्टासम्म प्रसव पीडा सहनुपरेको थियो। जटिल अवस्था भएपछि अस्पताल ल्याइए पनि शिशुलाई बचाउन सकिएन। मृत शिशु छोरा भएको थाहा पाएपछि परिवारले उनलाई थप मानसिक पीडा दिएको बताइएको छ।

यस्तै, मङ्गलसेन नगरपालिकाकी २१ वर्षीया महिलाले विवाहपछि केही वर्ष सन्तान नजन्माउने योजना बनाएकी थिइन्। तर परिवारको दबाबमा गर्भधारण गर्नुपर्‍यो। गर्भावस्थामा पनि उनलाई भारी काम गर्न लगाइयो। आठौं महिनामा गर्भमा शिशुको गतिविधि कम भए पनि समयमै उपचार नपाउँदा शिशुको गर्भमै मृत्यु भएको थियो।

अछाम जिल्ला अस्पतालकी सूचना अधिकारी तथा वरिष्ठ नर्सिङ निरीक्षक गंगा बुढा मगरका अनुसार सुरक्षित मातृत्व कार्यक्रमले मातृ मृत्युदर घटाउन सहयोग गरे पनि मृत शिशु जन्मिने समस्या अझै चुनौतीकै रूपमा रहेको छ।

उनका अनुसार तुर्माखाँद, धाकारी र रामारोशन गाउँपालिकामा यस्ता घटनाहरू बढी देखिएका छन्। शल्यक्रियाप्रति परिवारहरूको नकारात्मक धारणा तथा स्वास्थ्य संस्थामा ढिलो पुग्ने प्रवृत्तिले धेरै गर्भवती महिला र शिशुको जीवन जोखिममा पर्ने गरेको उनले बताइन्।

स्वास्थ्यकर्मीहरूले बालविवाह अन्त्य, किशोरी स्वास्थ्यमा सुधार, नियमित गर्भ परीक्षण र अन्धविश्वासको अन्त्यबिना मृत शिशु जन्मिने घटनामा उल्लेख्य कमी ल्याउन कठिन हुने बताएका छन्।

Comments (0)
Add Comment