करोडौँका गाडी भाडामा लिएर बेपत्ता! इजी कार रेन्टरका सञ्चालक युसुफ अलीको प्रहरी र सरकारसँग गुहार

काठमाडौं : काठमाडौंमा सञ्चालनमा रहेको इजी कार रेन्टरका सञ्चालक युसुफ अलीले गाडी भाडामा लिएर सम्पर्कविहीन हुने व्यक्तिहरूका कारण आफ्नो व्यवसाय गम्भीर संकटमा परेको भन्दै नेपाल प्रहरी र सरकारसँग प्रभावकारी हस्तक्षेपको माग गरेका छन्

अलीका अनुसार पछिल्ला वर्षहरूमा विभिन्न व्यक्तिहरूले गाडी भाडामा लिएर तोकिएको समयमै फिर्ता नगर्ने, मोबाइल बन्द गर्ने र सम्पर्कविहीन हुने घटनाहरू बढ्दै गएका छन्। उनका अनुसार करिब २७–२८ जना विरुद्ध उजुरी दिइए पनि धेरै गाडी अझै फेला नपरेको छ।

उनले केही सवारीसाधन फिर्ता भए पनि त्यसबीचमा भएको क्षति, बिग्रिएको अवस्था र हराएको समयका कारण ठूलो आर्थिक नोक्सानी भएको बताए। “गाडी फिर्ता भए पनि त्यसले भएको घाटा पूर्ति हुँदैन, हामी ऋणमा डुब्ने अवस्था आएको छ,” अलीले भने।

अलीले यस्ता घटनामा संलग्न ठग समूहमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्। उनका अनुसार नक्कली कागजात, झुटा परिचय र योजनाबद्ध तरिकाले गाडी लिएर बेपत्ता हुने प्रवृत्ति बढ्दै गएको छ, जसले सम्पूर्ण रेन्टल व्यवसाय नै जोखिममा पारेको छ।

उनले सरकार र नेपाल प्रहरीसँग प्रभावकारी अनुसन्धान, दोषीमाथि कडा कारबाही तथा हराएका सवारीसाधन खोजीका लागि विशेष अभियान सञ्चालन गर्न आग्रह गरेका छन्। साथै, ग्राहक प्रमाणीकरण प्रणाली कडा बनाउन र डिजिटल निगरानी प्रणाली लागू गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन्।

यता, यस विषयमा नेपाल प्रहरीको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। प्रहरीले प्रतिक्रिया दिएपछि समाचार अद्यावधिक गरिनेछ।

Comments (0)
Add Comment