काठमाडौं : काभ्रे जिल्लाको रोशी गाउँपालिका–८, खार्पाचोकमा व्यवसायी राजकुमार तामाङको बुद्धचित्तको बोटबाट करिब ५० लाख रुपैयाँ बराबरको माला लुटिएको घटना सार्वजनिक भएको छ।
प्रारम्भिक जानकारी अनुसार, चारवटा मोटरसाइकलमा आएको एक समूहले योजनाबद्ध रूपमा लुटपाट गरेको बताइएको छ। घटनास्थल नजिक जडान गरिएको सीसीटीभी क्यामेरालाई कपडाले छोपेपछि समूहले बोटको रेखदेख गरिरहेका चार जना कुरुवाको मोबाइल फोन खोसेर उनीहरूलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि उनीहरूले बुद्धचित्तको बोटबाटै करिब ५० लाख रुपैयाँ बराबरको माला लुटेर फरार भएको स्रोतको दाबी छ।
घटनास्थलमा रहेका कुरुवाहरूका अनुसार उक्त लुटपाट वाला लामाको समूहले गरेको बताइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको भए पनि पुग्दासम्म लुटेरा समूह फरार भइसकेको बताइएको छ। घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस घटनाबारे प्रहरीले औपचारिक विवरण सार्वजनिक गर्न बाँकी रहेको छ। अनुसन्धानबाट थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।