काठमाडौं : रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि चौधरी फाउन्डेसन र नबिल बैंकले करिब १५ करोड रुपैयाँ लागतको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन्।
कार्यक्रमअन्तर्गत तत्काल राहत वितरणदेखि अस्थायी आवास, स्वास्थ्य सेवा, स्थायी पुनर्निर्माण तथा दीर्घकालीन जनस्वास्थ्य पूर्वाधार निर्माणसम्मका योजना अघि बढाइने भएको छ।
पहिलो चरणमा बाढी प्रभावित परिवारलाई खाद्यान्न, खानेपानी, तयार खाना, बिस्कुट, लत्ताकपडा, तिरपाल, व्यक्तिगत सरसफाइका सामग्री, आवश्यक खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराइनेछ। राहत सामग्री भदौ ११ गतेदेखि प्रभावित क्षेत्रमा पुर्याउन थालिएको फाउन्डेसनले जनाएको छ।
त्यसैगरी, स्थानीय प्रशासनसँगको सहकार्यमा नुवाकोट र रसुवामा एक–एक गरी दुईवटा व्यवस्थित राहत शिविर स्थापना गरिनेछ। शिविरमा प्रभावितलाई दैनिक भोजनसँगै स्वच्छ खानेपानी, सरसफाइ तथा बालबालिकाका लागि सुरक्षित स्थानको व्यवस्था गरिनेछ।
धुलिखेल अस्पतालसँगको सहकार्यमा प्रभावित क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा तथा रोग रोकथामसम्बन्धी स्वास्थ्य शिविर पनि सञ्चालन गरिने भएको छ।
बाढीका कारण घर पूर्णरूपमा क्षतिग्रस्त वा बस्न अयोग्य भएका परिवारका लागि ५०० वटा अस्थायी आवास एकाइ निर्माण गरिने योजना छ। स्थायी पुनर्निर्माण सम्पन्न नहुँदासम्म प्रभावित परिवारलाई सुरक्षित र व्यवस्थित आवास उपलब्ध गराउने उद्देश्य राखिएको छ।
यसका साथै प्रभावित समुदायका लागि स्थायी आवास तथा आवश्यक सामुदायिक पूर्वाधार निर्माणमा समेत सहयोग गरिनेछ। दीर्घकालीन योजनाअन्तर्गत धुलिखेल अस्पतालसँग सहकार्य गरी संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गर्ने तयारी गरिएको छ।
चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले आपत्कालीन राहतमा मात्र सीमित नभई प्रभावित परिवारको दीर्घकालीन पुनर्स्थापना र जनस्वास्थ्य सुरक्षासम्म सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले उद्धार तथा राहतदेखि अस्थायी आवास, स्थायी पुनर्स्थापना र सुदृढ जनस्वास्थ्य तयारीसम्मको यात्रामा संस्थाहरू प्रतिबद्ध रहेको बताउनुभयो।
फाउन्डेसन र बैंकले नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सामुदायिक संस्था तथा स्वयंसेवकसँग समन्वय गरी सबैभन्दा बढी प्रभावित तथा जोखिममा रहेका परिवारसम्म राहत पुर्याउने जनाएको छ।
यसैबीच, प्रभावित नागरिकको उद्धार तथा तत्काल राहतका लागि नेपाल सरकारले गरेको सक्रिय पहलप्रति चौधरी फाउन्डेसन र नबिल बैंकले आभार व्यक्त गर्दै सरकारसँग आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।