डोजर अभियानमा सर्वोच्चको रोक : सुकुमवासी बस्ती खाली गराउने काम तत्काल बन्द गर्न आदेश

काठमाडौं : सुकुमवासी बस्तीमा डोजर चलाउने सरकारी अभियानविरुद्ध सर्वोच्च अदालतले तत्काल रोक लगाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले थापाथली, सिनामंगल, मनोहरा लगायतका क्षेत्रमा आक्रामक रूपमा सञ्चालन गरिएको डोजर अभियान तत्काल बन्द गर्न अन्तरिम आदेश जारी गरेको हो ।

सरकारले दीर्घकालीन व्यवस्थापन योजना बिना नै गत शनिबारदेखि विभिन्न सुकुमवासी बस्तीमा डोजर चलाउन थालेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, जस्मीन ओझा, ओजस्वी भट्टराई र माजिद अन्सारीसहित चार जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई विपक्षी बनाइएको थियो । अदालतले निवेदकहरूको माग सुनुवाइ गर्दै हाल भइरहेको हटाउने अभियान तत्काल रोक्न आदेश दिएको हो ।

Comments (0)
Add Comment