१८ वर्षे गणतन्त्र : उत्सवबीच संघर्ष र बलिदानको स्मरण

काठमाडौं:  नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको अवसरमा आज देशभर विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

 

 

राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष समारोह, प्रभातफेरी, सांस्कृतिक कार्यक्रम तथा औपचारिक सभाहरू आयोजना गरिएका छन् । गणतन्त्र दिवसको मुख्य समारोह काठमाडौंको सैनिक मञ्च टुँडीखेलमा आयोजना हुँदैछ । बिहान नेपाली सेनाले तोप पड्काएर दिवसको औपचारिक सुरुवात गरेको थियो ।

मुख्य समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ । समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम समेत तय गरिएको छ ।

नेपालमा गणतन्त्र स्थापना केवल राजनीतिक परिवर्तन मात्र नभई लामो संघर्ष, आन्दोलन र जनताको बलिदानको परिणामका रूपमा हेरिन्छ । दशकौँसम्म चलेको राजनीतिक संघर्ष, जनआन्दोलन र सशस्त्र विद्रोहपछि २०६५ साल जेठ १५ गते बसेको पहिलो संविधानसभाको बैठकले २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ गते प्रत्यक्ष शासन आफ्नो हातमा लिएपछि राजनीतिक परिस्थिति थप जटिल बनेको थियो । त्यसपछि राजनीतिक दलहरू र तत्कालीन विद्रोही नेकपा माओवादीबीच सहकार्यको वातावरण बनेको थियो । यही सहकार्यको आधारमा भएको १२ बुँदे समझदारीले आन्दोलनलाई निर्णायक मोडमा पुर्‍याएको मानिन्छ ।

२०६२/०६३ को जनआन्दोलनमा लाखौँ नागरिक सडकमा उत्रिएपछि संसद् पुनःस्थापना भएको थियो । पुनर्स्थापित संसद्ले राजसंस्थाको अधिकार कटौती गर्दै माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र संविधानसभा निर्वाचनमार्फत नयाँ राजनीतिक व्यवस्था स्थापना गर्ने बाटो खोलेको थियो ।

Comments (0)
Add Comment