काठमाडौं: प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको टोलीले काभ्रेको बनेपास्थित होल्डिङ सेन्टरको अनुगमन गर्दै त्यहाँ राखिएका सुकुम्वासी परिवारका समस्या र अवस्था बुझेको छ । समिति सभापति हरि ढकाल को नेतृत्वमा सोमबार बिहान पुगेको टोलीले होल्डिङ सेन्टरमा रहेका नागरिकसँग प्रत्यक्ष छलफल गरेको हो ।
कर्मचारीसहित १५ सदस्यीय टोलीले सुकुम्वासी परिवारले भोगिरहेका दैनिक समस्या, बालबालिकाको शिक्षा, दीर्घरोगीको उपचार तथा स्थायी बसोबासको विषयमा जानकारी लिएको जनाएको छ । त्यहाँ रहेका नागरिकले अस्थायी बसोबासका कारण जीवन कष्टकर बनेको गुनासो गर्दै सरकारले छिटो स्थायी समाधान दिनुपर्ने माग गरेका थिए ।
स्थानीय बासिन्दाले बालबालिकाको पढाइ प्रभावित भएको, बिरामी तथा ज्येष्ठ नागरिकको उचित हेरचाह हुन नसकेको र दीर्घकालीन बसोबासको टुंगो नलाग्दा मानसिक तनाव बढेको बताएका छन् । उनीहरूले सरकारले तत्काल शिक्षा, स्वास्थ्य र आवास व्यवस्थापनमा ध्यान दिनुपर्ने माग राखेका हुन् ।
समिति सभापति ढकालले होल्डिङ सेन्टरमा रहेका नागरिकका समस्या सरकारसमक्ष पुर्याइने बताउँदै शिक्षा र स्वास्थ्यसम्बन्धी आधारभूत व्यवस्थापन छिट्टै गरिने आश्वासन दिएका छन् । टोलीले त्यहाँको अवस्थाबारे थप अध्ययन गरी आवश्यक सुझाव सरकारलाई बुझाउने जनाएको छ ।