स्वास्थ्य बिमा संकट गहिरियो : निजी अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

काठमाडौं:  निजी स्वास्थ्य संस्थामार्फत प्रदान हुँदै आएको स्वास्थ्य बिमा सेवा स्थगित गरिएको छ । स्वास्थ्य बिमा बोर्डमा देखिएको बढ्दो वित्तीय संकटका कारण अर्को निर्णय नभएसम्म आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य बिमा सेवा बन्द गर्ने निर्णय गरिएको हो ।

स्वास्थ्य बिमा बोर्डले सार्वजनिक गरेको निर्णयअनुसार नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी अस्पताल तथा मेडिकल कलेजहरूमा प्रदान गरिँदै आएका बिमा सेवा आगामी जेठ १६ गतेदेखि लागू हुने गरी रोकिएको हो ।बोर्डले वित्तीय भार अत्यधिक बढ्दै गएको र भुक्तानी व्यवस्थापनमा समस्या देखिएकाले यस्तो निर्णय लिनुपरेको जनाएको छ । बोर्डको निर्णयमा आकस्मिक उपचार सेवा भने निरन्तर सञ्चालन हुने उल्लेख गरिएको छ ।यो निर्णयसँगै स्वास्थ्य बिमामार्फत उपचार गराउँदै आएका हजारौँ सर्वसाधारण प्रत्यक्ष प्रभावित हुने भएका छन् । विशेषगरी दीर्घरोगी, नियमित परीक्षण गराइरहेका बिरामी तथा निजी अस्पतालमा उपचारमा निर्भर नागरिकलाई समस्या पर्ने देखिएको छ ।

निजी अस्पतालहरूले लामो समयदेखि बिमा बोर्डबाट भुक्तानी नपाएको गुनासो गर्दै आएका थिए । बक्यौता रकम बढ्दै जाँदा सेवा सञ्चालनमै कठिनाइ भएको भन्दै उनीहरूले पटक–पटक सरकारको ध्यानाकर्षण गराएका थिए ।

स्वास्थ्य बिमा बोर्डको जेठ ११ गते बसेको बैठकले सेवा स्थगनसम्बन्धी निर्णय गरेको हो । अब सरकारले वित्तीय व्यवस्थापन र बक्यौता भुक्तानीको स्पष्ट योजना अघि नसारे सर्वसाधारणको स्वास्थ्य सेवामा थप असर पर्ने चिन्ता बढेको छ ।

Comments (0)
Add Comment