सेयर बजारमा सुधारको संकेत, साता ३.९० अंकले हरियो

काठमाडौं :  बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको सेयर बजारले यस साता केही राहत महसुस गरेको छ। अघिल्लो साता पाँचै कारोबार दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साता भने उतारचढावबीच समग्रमा ३.९० अंकले बढ्दै हरियो बन्द भएको हो।

पाँच कारोबार दिनमध्ये दुई दिन नेप्सेमा वृद्धि भयो भने तीन दिन सामान्य गिरावट देखियो। साताको अन्तिम कारोबार दिन नेप्से ८.३० अंकले घटे पनि समग्र साप्ताहिक प्रदर्शन सकारात्मक रह्यो। शुक्रबार बजार २,६५३.४० अंकमा बन्द भएको छ।

साताको सुरुआत भने कमजोर रह्यो। सोमबार नेप्से १६.५४ अंक र मंगलबार २४.६३ अंकले घटेको थियो। त्यसपछि बुधबार ४४.३९ अंक र बिहीबार ८.७८ अंकले सुधार आएपछि बजारले केही गति समात्यो। यस क्रममा साताभर बजारको न्यूनतम विन्दु २,६०२.३९ र उच्चतम विन्दु २,६७३.१४ अंकसम्म पुगेको थियो।

कारोबार रकममा भने कमी

यस साता कुल १९ अर्ब १७ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। औसत दैनिक कारोबार करिब ३ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो साताको औसत दैनिक कारोबारभन्दा करिब १० प्रतिशत कम हो।

दैनिक कारोबारका आधारमा सोमबार सबैभन्दा कम २ अर्ब ६७ करोड १८ लाख रुपैयाँको कारोबार भयो भने शुक्रबार सबैभन्दा बढी ४ अर्ब ४१ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।

यस साता कारोबार भएका कम्पनीको संख्या पनि बढेको देखिएको छ। सोमबार ३५१ कम्पनीका सेयर कारोबार हुँदा मंगलबार सबैभन्दा बढी ३६५ कम्पनीका स्क्रिप्ट किनबेच भएका थिए।

बजार पुँजीकरणमा २४ अर्बभन्दा बढी वृद्धि

नेप्से सामान्य रूपमा उकालो लागेसँगै कुल बजार पुँजीकरण पनि बढेको छ। शुक्रबार बजार पुँजीकरण ४५ खर्ब ५९ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो साताको तुलनामा यो करिब २४ अर्ब ४० करोड रुपैयाँले बढी हो।

कुन–कुन समूह उक्लिए?

१३ उपसमूहमध्ये यस साता ६ समूहको परिसूचक बढ्दा ७ समूह घटेका छन्। बैंकिङ, फाइनान्स, ट्रेडिङ, विकास बैंक, माइक्रोफाइनान्स र जलविद्युत् समूह सकारात्मक रहे।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.१३ अंक, फ्लोट इन्डेक्स ०.६४ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८४ अंकले वृद्धि भएका छन्।

सर्किट लाग्ने कम्पनी

यस साता स्नो रिभर्स हाइड्रोपावरको सेयर पाँचै कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भयो। त्यसैगरी टक्सार पिखुवा खोला हाइड्रोपावर, कालिंगा हाइड्रोपावर, याम्लिङ हाइड्रोपावर, धौलागिरी लघुवित्त, अपर लोहोरे खोला हाइड्रोपावर र सानिगढ हाइड्रोपावरको सेयर पनि एक–एक दिन सकारात्मक सर्किटमा कारोबार भएको थियो।

मौद्रिक नीतिका लागि लगानीकर्ताका पाँच सुझाव

यसैबीच, सेयर लगानीकर्ता संघ नेपालले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि पाँचबुँदे सुझाव सार्वजनिक गरेको छ।

संघले बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा लगानी गर्न थप स्वतन्त्रता दिनुपर्ने, नियामकीय प्रतिबन्धहरू लचक बनाइनुपर्ने, लघुवित्त संस्थाको लाभांश वितरण सम्बन्धी व्यवस्था सुधार गर्नुपर्ने, सेयर धितो कर्जालाई जोखिममा आधारित बनाउनुपर्ने र गैरआवासीय नेपाली (एनआरएन) का लागि लगानी भित्र्याउने तथा बाहिर लैजाने प्रक्रिया सहज बनाउनुपर्ने सुझाव दिएको छ।

त्यसैगरी, संस्थागत कोषहरूलाई सेयर बजारमा सक्रिय रूपमा परिचालन गर्न आवश्यक नीतिगत सहजीकरण गर्न पनि संघले सरकार र नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ।

Comments (0)
Add Comment