काठमाडौं : संघीय संसद्मा सांसदहरूको उपस्थितिलाई प्रविधिमैत्री बनाउन विद्युतीय हाजिरी प्रणाली (ई-हाजिरी) लागू गर्ने तयारी गरिएको छ । त्यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य धमाधम भइरहेको छ ।
संसद् सचिवालयले सबै सांसदलाई बायोमेट्रिक विवरण उपलब्ध गराउन उपस्थित हुन यसअघि नै सूचना जारी गरेको थियो । सोहीअनुसार सांसदहरूको औंठाछापसहित आवश्यक विवरण संकलन भइरहेको जनाइएको छ ।
बायोमेट्रिक विवरणसँगै सांसदहरूको औपचारिक तस्बिरसमेत खिचिने व्यवस्था गरिएको छ । सचिवालयले तस्बिर खिच्ने कार्यक्रम भएकाले सांसदहरूलाई औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन अनुरोध गरेको छ ।