सप्तरीमा मोटरसाइकल–ट्याक्टर ठोक्किँदा एक जनाको ज्यान

काठमाडौँ :  सप्तरीमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–८ निवासी ५५ वर्षीय कलुवा भनिने हनिफ मिया रहेका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका–८ को विष्णु मन्दिर टोलमा पूर्वतर्फ जाँदै गरेको प्र.२–०१–००१ त १७१३ नम्बरको ट्याक्टर र मियाले चलाएको नम्बर नखुलेको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका मियालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।

दुर्घटनापछि फरार रहेका ट्याक्टर धनी रुपनी गाउँपालिका–६ निवासी शिवनारायण महतोलाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालत, राजविराजबाट सात दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Comments (0)
Add Comment