विश्व शक्ति संघर्षको नयाँ अध्याय : ट्रम्प, चीन र बदलिँदो भूराजनीतिक समीकरण

आजको विश्व राजनीति केवल कूटनीतिक भेटघाट, सम्झौता वा सैन्य प्रतिस्पर्धामा सीमित छैन। शक्ति प्रदर्शन अब आर्थिक नियन्त्रण, ऊर्जा स्रोतको वर्चस्व, वैचारिक प्रभाव र रणनीतिक गठबन्धनको जटिल खेलमा रूपान्तरित भइसकेको छ। अमेरिका–इरान तनाव, रुस–युक्रेन युद्ध, ताइवान विवाद, गाजाको मानवीय संकट र डोनाल्ड ट्रम्पको चीन भ्रमणलाई एउटै दृष्टिकोणबाट हेर्दा विश्व नयाँ शक्ति संरचनातर्फ अघि बढिरहेको संकेत स्पष्ट देखिन्छ।

यी सबै घटनाको केन्द्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संयुक्त राज्य अमेरिकाको रणनीतिक स्वार्थ जोडिएको अनुभूति हुन्छ। लोकतन्त्र, मानवअधिकार र सुरक्षाका नाममा प्रस्तुत गरिने बहसहरू धेरैजसो भू–राजनीतिक प्रभाव विस्तार, सैन्य गठबन्धन मजबुत बनाउने प्रयास, हतियार व्यापार र तेल–ऊर्जा स्रोतको नियन्त्रणसँग गाँसिएका देखिन्छन्। यही कारण अहिले विश्व अमेरिकी नेतृत्वको एकध्रुवीय संरचनाबाट क्रमशः बहुध्रुवीय शक्ति सन्तुलनतर्फ अघि बढिरहेको विश्लेषण गर्न थालिएको छ।

यही पृष्ठभूमिमा डोनाल्ड ट्रम्पको चीन भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ। विश्वभरका राजनीतिक विश्लेषकहरूले यस भ्रमणलाई फरक–फरक कोणबाट व्याख्या गरेका छन्। कसैले यसलाई अमेरिकी शक्ति संरचनाभित्रको नयाँ पुनर्संयोजन भनेका छन् भने कसैले चीनको दीर्घकालीन कूटनीतिक रणनीतिको संकेत मानेका छन्।

भ्रमणका क्रममा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटको स्थानबारे सोधेको प्रश्न र त्यसको जवाफले अझ बढी चर्चा पाएको छ। ट्रम्पले “यो स्थानमा मबाहेक अरू कोही आएका थिए ?” भनेर सोध्दा सीले “यो औपचारिक कूटनीतिक भेटको स्थान होइन, यहाँ सामान्यतया कसैलाई ल्याइँदैन, तर राष्ट्रपति भ्लादिमिर पुटिन यहाँ आइसकेका छन्” भन्ने जवाफ दिएका थिए।

विश्लेषकहरूका अनुसार यो संवाद केवल औपचारिक सम्मान वा आतिथ्यको संकेत मात्र होइन। यसले चीनले प्रयोग गरिरहेको ‘सांकेतिक कूटनीति’लाई पनि उजागर गर्छ। चीनले कसलाई विश्व शक्ति संरचनाको महत्वपूर्ण खेलाडी मान्छ, कसलाई रणनीतिक साझेदारका रूपमा हेर्छ र कसरी बहुध्रुवीय विश्व व्यवस्था निर्माण गर्न खोजिरहेको छ भन्ने सन्देश यसमा लुकेको देखिन्छ।

चिनियाँ राजनीतिक संस्कृतिमा औपचारिक समारोहभन्दा बाहिरको व्यक्तिगत निकटतालाई विशेष महत्व दिइन्छ। कुनै विदेशी नेतालाई सीमित पहुँच भएको स्थानमा निमन्त्रणा गर्नु केवल सम्मानको विषय होइन, त्यो ‘विश्वासको संकेत’ पनि हो। त्यसैले “पुटिन यहाँ पहिले आइसकेका छन्” भन्ने अभिव्यक्तिले चीन–रुस सम्बन्धलाई साधारण कूटनीतिक सम्बन्धभन्दा माथि उठाएर विशेष रणनीतिक साझेदारीका रूपमा प्रस्तुत गरेको बुझाइ छ।

युक्रेन युद्धपछि पश्चिमी प्रतिबन्धहरूले रुसलाई अझ बढी चीनतर्फ धकेलेको छ। अमेरिका र उसका सहयोगी राष्ट्रहरूले रुसलाई अन्तर्राष्ट्रिय रूपमा अलग पार्ने प्रयास गरे पनि चीन त्यस अभियानमा पूर्ण रूपमा सहभागी भएन। बरु चीनले रुसलाई अमेरिकी प्रभुत्वविरुद्धको रणनीतिक ध्रुवका रूपमा हेर्ने नीति झन् स्पष्ट बनाएको देखिन्छ।

यही सन्दर्भमा ट्रम्पप्रति चीनले देखाएको व्यवहारलाई पनि चासोका साथ हेरिएको छ। चीनले ट्रम्पलाई केवल पूर्वअमेरिकी राष्ट्रपतिका रूपमा नभई अमेरिकी राजनीतिक संरचनाभित्रको वैकल्पिक राष्ट्रवादी ध्रुवका रूपमा पनि हेरेको विश्लेषण गरिन्छ। ट्रम्पको ‘अमेरिका फस्र्ट’ नीति, नाटोप्रतिको आलोचना, उदारवादी विश्व व्यवस्थामाथिको प्रश्न र अन्तर्राष्ट्रिय संस्थाहरूप्रतिको अविश्वासले पश्चिमी शक्ति संरचनाभित्र नयाँ अस्थिरता सिर्जना गरेको थियो। चीनका लागि यो चुनौती मात्र होइन, अवसर पनि बन्न सक्ने संकेत देखिन्छ।

भूराजनीतिक दृष्टिले चीनले पुटिन र ट्रम्पलाई एउटै तहमा राखेजस्तो देखिए पनि सम्बन्धको प्रकृति भने फरक छ। रुस चीनका लागि दीर्घकालीन सैन्य र रणनीतिक साझेदार हो भने ट्रम्प अमेरिकी आन्तरिक शक्ति संघर्षलाई प्रभावित गर्न सक्ने राजनीतिक पात्रका रूपमा हेरिएका छन्। चीनले दुवैसँग सम्बन्ध राखे पनि उद्देश्य फरक–फरक रहेको बुझाइ छ।

विश्व अर्थतन्त्रमा पनि अहिले ठूलो परिवर्तनको संकेत देखिन थालेको छ। दोस्रो विश्वयुद्धपछि अमेरिकी डलर, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक तथा पश्चिमी वित्तीय संस्थाले निर्माण गरेको आर्थिक संरचना चुनौतीमा पर्दै गएको विश्लेषण भइरहेको छ। चीनले ब्रिक्स, युआन आधारित व्यापार, वैकल्पिक बैंकिङ संरचना र ‘बेल्ट एन्ड रोड इनिसियटिभ’मार्फत नयाँ आर्थिक शक्ति केन्द्र निर्माण गर्ने प्रयास गरिरहेको छ।

रुसले ऊर्जा र सैन्य शक्ति प्रदान गर्छ भने चीनले उत्पादन, प्रविधि र पुँजीको नेतृत्व गरिरहेको छ। ट्रम्पवादी राष्ट्रवादले पश्चिमी उदारवादी गठबन्धन कमजोर पार्न सक्ने सम्भावना बोकेको विश्लेषण पनि गरिन्छ। चीनको दृष्टिमा यी सबै शक्ति प्रवाहहरू बहुध्रुवीय विश्व निर्माणसँग प्रत्यक्ष रूपमा जोडिएका छन्।

तर विश्व राजनीतिका यी शक्ति खेलहरूले मानव सभ्यतालाई शान्ति र स्थायित्वतर्फ भने अझै डोहोर्‍याउन सकेका छैनन्। गाजामा भइरहेको मानवीय संकट, युक्रेन युद्धको विनाश र ताइवानमाथिको बढ्दो तनावले विश्व अझै पनि अस्थिरताको चक्रमा फसेको देखिन्छ। अमेरिका र इजरायलसँग जोडिएका मध्यपूर्वका द्वन्द्वहरूले पनि शक्ति राष्ट्रहरू अझै प्रभुत्व र स्वार्थको राजनीतिबाट मुक्त हुन नसकेको संकेत गर्छन्।

ट्रम्पको चीन भ्रमणले विश्व भूराजनीतिमा नयाँ बहस र शक्ति सन्तुलनको संकेत अवश्य दिएको छ। तर युद्धविहीन, न्यायपूर्ण र मानवीय विश्व व्यवस्थाको सपना भने अझै अधुरै छ। समयसँगै विश्व राजनीति कुन दिशातर्फ मोडिन्छ भन्ने भविष्यले देखाउनेछ, तर एउटा कुरा स्पष्ट बन्दै गएको छ—विश्व अब बहुध्रुवीय शक्ति संरचनातर्फ अघि बढिरहेको छ, र त्यसलाई रोक्न सहज देखिँदैन।

Comments (0)
Add Comment