काठमाडौँ : अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्यान्डले हैटीलाई १–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
स्कटल्यान्डको जितमा कप्तान जोन म्याकगिनले २८औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। प्रतिस्पर्धात्मक खेलमा उनले गरेको उक्त गोलले स्कटल्यान्डलाई महत्वपूर्ण तीन अंक दिलायो।
खेलभर हैटीले कडा चुनौती प्रस्तुत गरे पनि गोल फर्काउन सकेन। विशेषगरी दोस्रो हाफमा हैटीले लगातार दबाब सिर्जना गर्दै केही उत्कृष्ट अवसर बनाएको थियो। तर स्कटल्यान्डका गोलरक्षक एङ्गस गन र रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको अग्रता जोगाए।
सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलिरहेको स्कटल्यान्डले जितसँगै समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ। यता, सन् १९७४ पछि विश्वकपमा फर्किएको हैटीले भने हारसँगै आफ्नो अभियान सुरु गरेको छ।
रोमाञ्चक प्रतिस्पर्धामा सीमित अवसरको सदुपयोग गर्दै स्कटल्यान्डले जित हात पार्दा उत्साहजनक प्रदर्शन गरेको हैटी गोल गर्न नसक्दा अंकविहीन रह्यो। पहिलो खेलमै जित निकाल्दै स्कटल्यान्डले नकआउट चरण प्रवेशको सम्भावनालाई थप बलियो बनाएको छ।