लगातार वर्षापछि पहिरो, मध्यपहाडी लोकमार्ग लमजुङ खण्ड ठप्प

काठमाडौँ : लगातार परेको वर्षाका कारण गएको पहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

 

 

मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा पहिरो खस्दा आज बिहानदेखि सवारी आवतजावत ठप्प भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार रातिदेखि निरन्तर वर्षा भइरहेकाले सडकमा खसेको पहिरो हटाउन कठिनाइ भइरहेको छ।

उनका अनुसार वर्षा नरोकिँदासम्म पहिरो पन्छाउने काम प्रभावित हुने देखिएको छ, जसका कारण सडक खुलाउन केही समय लाग्ने सम्भावना छ।

 

 

यससँगै, सो सडकखण्ड आसपासका खोलाहरूमा पानीको बहाव पनि अत्यधिक बढेकाले सवारी सञ्चालन झन् जोखिमपूर्ण बनेको प्रहरीले जनाएको छ। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र सतर्कता अपनाउन आग्रह गरिएको छ।

Comments (0)
Add Comment