काठमाडौं : यही असार ७ गतेदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक महाधिवेशनमा एउटा पृथक् अनुहार केन्द्रीय सदस्यको मैदानमा उत्रिँदै छ जसले राजनीतिको परिभाषा भोट र सत्ताले होइन, पसिना र सेवाले गरेको छ । व्यवसायी तथा समाजसेवी सागर अर्याल, जसले विपद्का हरेक रातमा मानवताको दियो बाले, आज रास्वपाको केन्द्रीय सदस्यको उम्मेदवारका रूपमा चर्चाको केन्द्रमा छन् ।
उनको नामसँग जोडिएका छन् ,कोरोनाको शव उठाउने एम्बुलेन्स, लकडाउनका भोकालाई खाना खुवाउने हात, सडकपेटीबाट गाउँ फर्काउने गाडी, सुत्केरी आमालाई रगत जुटाइदिने सञ्जाल, र बाढीपीडितको भिजेको आँखा पुछ्ने रुमाल । कुनै राजनीतिक विरासत नभएका अर्यालले जमिनमा टेकेर गरेको सेवा नै आज उनलाई बलियो उम्मेदवार बनाएको छ ।
कोरोना काल : जब एक जना मानिस अक्सिजनको पर्याय बने
२०७७–७८ को कोरोना दोस्रो लहरमा अक्सिजन नपाएर मानिस मर्दै गर्दा सागर अर्यालले आफ्नो व्यावसायिक स्रोत र शक्ति अक्सिजन सिलिण्डरको खोजीमा होमिदिए । उनी आफैं चालक बने, आफैं अक्सिजन बोके, र आफैं अस्पतालदेखि होम आइसोलेसनसम्म पुर्याए । राति २ बजे पनि फोन उठाएर “अक्सिजन आउँदै छ, नआत्तिनुस्” भन्ने ती आश्वासनले सयौं परिवारलाई पुनर्जीवन दियो ।
लकडाउन : सडकपेटीको भोकदेखि घर फर्काउने अभिभावकसम्म
लकडाउनले बेरोजगार बनाएका हजारौं श्रमिक सडकमा भोकले छट्पटाउँदा सागरले निःशुल्क भान्सा चलाए । बालाजु, कलंकी, कोटेश्वरदेखि सिन्धुपाल्चोकका सडकसम्म चामल दाल तरकारीका प्याकेट पुर्याए । तर खाना मात्र होइन लकडाउनमा घर जान नपाएका सयौंलाई उनले आफैं गाडीमा राखेर गन्तव्यसम्म निःशुल्क छोडिदिए । कतिले तिनलाई “लकडाउनका अभिभावक” भन्न थाले ।
सुत्केरी आमाको जीवनदान : रगतको सञ्जाल
राजधानीदेखि जिल्लासम्म, सागरले सुत्केरी महिलाका लागि नियमित रक्तदान कार्यक्रम सञ्चालन गरे । अस्पताल र रक्त सञ्चार केन्द्रसँग समन्वय गरी आकस्मिक रगत चाहिने आमालाई स्वयंसेवकमार्फत रगत उपलब्ध गराउने सञ्जाल बनाए । “रगत खोज्दै हुनुहुन्छ ?” भन्ने सामाजिक सञ्जालको अपील तत्काल सम्बोधन गर्ने उनको मोडेलले धेरै आमा र नवजात शिशुको जीवन बचायो ।
सुकुम्बासी बस्तीदेखि बाढीपीडितसम्म : राहतको न्यानो हात
भूकम्प, बाढी, र विपद्का हरेक समयमा सागर राहत लिएर पीडितको घरदैलोमै पुगे । सुकुम्बासी बस्तीमा खाद्यान्न र कम्बल, पूर्वी नेपालको बाढीमा त्रिपाल र भाँडाकुँडासहितको राहत उनी सधैं पहिलो पंक्तिमा देखिए । कसैको आत्मसम्मानमा ठेस नपुगोस् भनेर चुपचाप सेवा गर्ने उनको शैलीले उनी स्थानीयका लागि “दाइ” मात्र बने ।
महाधिवेशन : केवल उम्मेदवार होइन, सेवाको प्रतिविम्ब
रास्वपा नेतृत्वले बारम्बार भन्ने “जनताको जीवनसँग जोडिएको राजनीति” को जीवन्त प्रतिविम्ब हुन् — सागर अर्याल । असार ७-९ सम्म चितवनमा चल्ने महाधिवेशनमा उनको उम्मेदवारीले पार्टीभित्र सेवाभावी, विपद् व्यवस्थापक र क्रियाशील युवा अनुहारको आगमनको सङ्केत गरेको छ ।
“राजनीति गर्न होइन, राजनीतिलाई सेवाको माध्यम बनाउन आएको हुँ,” सागर भन्छन्, “म अक्सिजन बोकेको मान्छे हुँ, रगत जुटाउने हात हुँ, भोकालाई खाना खुवाउने साथी हुँ । महाधिवेशनले जिम्मेवारी दियो भने यी सबै अनुभवलाई पार्टीको नीति र जनताको जीवनसँग गाँस्नेछु ।”
सडकपेटीदेखि सुत्केरीको शैयासम्मको यात्रा गरेको यो मान्छे, अब रास्वपाको केन्द्रीय नेतृत्वतर्फको यात्रामा छ र उसको कथा भन्छ, राजनीति सेवाको अर्को नाम पनि हुनसक्छ ।