पाँच वर्षभित्र डेंगु संक्रमण ६० प्रतिशतले घटाउने सरकारको लक्ष्य

काठमाडौं:  सरकारले आगामी पाँच वर्षभित्र डेंगु संक्रमणको दर ६० प्रतिशतले घटाउने महत्वाकांक्षी लक्ष्यसहित नयाँ कार्ययोजना कार्यान्वयनमा ल्याएको छ।

 

 

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार गरेको ‘डेंगु रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय योजना’ अनुसार संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायलाई डेंगु नियन्त्रण अभियानमा परिचालन गरेर उक्त लक्ष्य हासिल गर्ने तयारी गरिएको हो।

योजनाअन्तर्गत सरकारले डेंगुबाट हुने मृत्युदरलाई ०.०१ प्रतिशतभन्दा कममा झार्ने लक्ष्य पनि राखेको छ। मन्त्रालयका अनुसार गम्भीर प्रकृतिका डेंगु संक्रमण र त्यसबाट उत्पन्न हुने जटिलतालाई न्यूनिकरण गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ।

लक्ष्य प्राप्तिका लागि रोग निगरानी प्रणालीलाई थप सुदृढ बनाइने र डेंगुको फैलावटलाई प्रभावकारी रूपमा अनुगमन गर्न उपलब्ध सबै संयन्त्र परिचालन गरिने जनाइएको छ। साथै, उच्च जोखिमयुक्त क्षेत्रमा डेंगु सार्ने लामखुट्टे प्रवेश गर्नुअघि नै स्थानीय बासिन्दालाई सचेत गराउन प्रारम्भिक चेतावनी प्रणालीलाई थप प्रभावकारी बनाइनेछ।

सरकारले डेंगु सार्ने लामखुट्टेको पहिचान हुनासाथ तत्काल प्रतिक्रिया जनाउन एकीकृत भेक्टर निगरानी प्रणालीलाई पनि सुदृढ र दिगो बनाउने योजना अघि सारेको छ। यसका साथै जनचेतना अभिवृद्धि र जोखिम न्यूनीकरणका लागि व्यापक सूचना तथा सञ्चार अभियान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।

Comments (0)
Add Comment