काठमाडौँ : पाँचथर जिल्लाको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजाले जिल्लाको शैक्षिक अवस्था चिन्ताजनक देखिएको छ। जिल्लाका ६ वटा विद्यालयबाट सहभागी भएका कुनै पनि विद्यार्थी ग्रेडेड हुन नसक्दा ती विद्यालयको नतिजा शून्य आएको हो।
शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरका अनुसार कालिका मावि साम्दिन, सारताप मनरत्न मावि, खान्द्रोङ मावि, चन्द्रोदय मावि, माउण्ट कञ्चन बोर्डिङ स्कुल र सरस्वती मावि ताङलेपाबाट एसइई दिएका सबै विद्यार्थी अनुत्तीर्ण भएका छन्। ती विद्यालयबाट ४ जनादेखि २६ जनासम्म विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
यसपटक जिल्लाभर नियमित साधारण धारतर्फ २ हजार ९९ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा १ हजार ३४ जना मात्र ग्रेडेड भएका छन्। त्यसअनुसार जिल्लाको उत्तीर्ण प्रतिशत ४९ मा सीमित भएको छ।
यस्तै, प्राविधिक धारतर्फ १२२ जना विद्यार्थी सहभागी भएकामा ६२ जना मात्रै ग्रेडेड भएका छन्। जिल्लाको समग्र नतिजाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर, शिक्षक व्यवस्थापन र अध्ययन वातावरणबारे गम्भीर प्रश्न उठाएको स्थानीय सरोकारवालाले बताएका छन्।