काठमाडौं : नेपाल र भारतबीच डिजिटल रेमिट्यान्स सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। यससँगै भारतमा कार्यरत नेपाली नागरिक तथा नेपालमा रोजगारी गरिरहेका भारतीय नागरिकले अब बैंक तथा मोबाइल बैंकिङ एपमार्फत सिधै आफ्नो परिवारलाई पैसा पठाउन सक्ने भएका छन्।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भारतको नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच प्राविधिक एकीकरण सम्पन्न भएपछि यो सेवा सुरु गरिएको हो। यसमार्फत नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) र भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपिआई) आपसमा जोडिएका छन्।
सेवाको पहिलो चरणमा व्यक्ति–व्यक्तिबीच (पी–टु–पी) रकम स्थानान्तरण गर्न सकिने व्यवस्था गरिएको छ। प्रारम्भिक रूपमा भारतमा बसोबास वा रोजगारी गरिरहेका नेपाली नागरिक र नेपालमा कार्यरत भारतीय नागरिकले मात्र यो सुविधा प्रयोग गर्न पाउनेछन्।
नेपाल राष्ट्र बैंकका अनुसार हाल एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक र नेपाल एसबीआई बैंकमार्फत रकम पठाउन तथा प्राप्त गर्न सकिनेछ। हिमालयन बैंक, एनएमबी बैंक र सिद्धार्थ बैंकका ग्राहकले भने रकम प्राप्त गर्न सक्नेछन्।
नयाँ व्यवस्थाअनुसार भारतबाट नेपालतर्फ एक पटकमा अधिकतम दुई लाख भारतीय रुपैयाँसम्म पठाउन सकिनेछ र मासिक सीमा तोकिएको छैन। नेपालबाट भारततर्फ भने एक पटकमा १५ हजार भारतीय रुपैयाँ र मासिक अधिकतम एक लाख भारतीय रुपैयाँसम्म पठाउन पाइने व्यवस्था गरिएको छ। प्रत्येक कारोबारमा १५० भारतीय रुपैयाँ सेवा शुल्क लाग्नेछ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले यो सेवाले भारतमा रहेका नेपाली श्रमिकलाई कम लागतमा बैंकिङ प्रणालीमार्फत सुरक्षित रूपमा घरपरिवारलाई रकम पठाउन सहज बनाउने बताए। उनका अनुसार यसले हुन्डीजस्ता अनौपचारिक तथा अवैध माध्यमको प्रयोग घटाउने अपेक्षा गरिएको छ।
“पहिले रेमिट्यान्स कम्पनीमा निर्भर हुनुपर्ने अवस्था थियो। अब मोबाइल बैंकिङ र बैंक खातामार्फत सिधै परिवारको खातामा रकम पठाउन सकिन्छ,” उनले भने। उनले कारोबारमा समस्या आए समाधान र विवाद व्यवस्थापनका लागि स्पष्ट संयन्त्रसमेत बनाइएको जानकारी दिए।
एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सेवा पूर्ण रूपमा डिजिटल र रियल–टाइममा सञ्चालन हुने बताए। नेपाल र भारतबीच वार्षिक १.५ अर्बदेखि २ अर्ब अमेरिकी डलरसम्मको वित्तीय कारोबार हुने उल्लेख गर्दै उनले धेरै श्रमिक अझै पनि नगद बोकेर सीमा पार गर्ने गरेको बताए।
उनका अनुसार डिजिटल माध्यमबाट रकम स्थानान्तरण हुँदा नगद बोकेर हिँड्नुपर्ने जोखिम कम हुनुका साथै कारोबार थप पारदर्शी बन्नेछ। कारोबार प्रशोधनको काम एनसीएचएल र एनपीसीआईले गर्नेछन् भने रकमको स्थानान्तरण र सेटलमेन्ट सम्बन्धित बैंकहरूले व्यवस्थापन गर्नेछन्।
नबिल बैंकले पनि यो सेवा नेपाल–भारतबीचको भुक्तानी प्रणालीलाई अझ छिटो, सुरक्षित र सहज बनाउने दिशामा महत्वपूर्ण उपलब्धि भएको जनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले यसलाई सीमा पार भुक्तानी प्रणालीको आधुनिकीकरणतर्फको महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेका छन्।
प्रधानका अनुसार भारतमा प्रचलित गुगल पे, पेटीएम र फोनपे जस्ता डिजिटल भुक्तानी एपहरू बैंक खातासँग आबद्ध भएमा तीमार्फत पनि सेवा प्रयोग गर्न सकिनेछ।
हाल आठ नेपाली बैंक प्रत्यक्ष रूपमा प्रणालीसँग आबद्ध छन्। नेपाल राष्ट्र बैंकले क्रमशः देशका सबै बैंक तथा वित्तीय संस्थालाई यस प्रणालीमा जोड्ने तयारी गरिरहेको जनाएको छ।
केंद्रीय बैंकका अनुसार यो पहलले नेपाल–भारतबीचको वित्तीय कारोबारलाई थप आधुनिक, पारदर्शी, प्रभावकारी र औपचारिक बनाउँदै सीमा पार हुने रेमिट्यान्स प्रवाहलाई सहज बनाउने विश्वास गरिएको छ।