काठमाडौं : नेपालमा हरेक वर्ष करिब १४ सयदेखि १५ सयसम्म बालबालिकामा नयाँ क्यान्सर रोग पहिचान हुने गरेको तथ्यांकले देखाएको छ । तर तीमध्ये धेरै बालबालिका समयमै उपचारको पहुँचमा पुग्न नसक्दा अवस्था जटिल बन्दै गएको चिकित्सकहरू बताउँछन् । आर्थिक अभाव, चेतनाको कमी र क्यान्सरप्रतिको डरका कारण धेरै परिवारले उपचार प्रक्रिया नै सुरु नगर्ने अवस्था देखिएको छ ।
बाल क्यान्सर विशेषज्ञ डा. Anjali Pandit का अनुसार बालबालिकामा सबैभन्दा बढी देखिने क्यान्सर ब्लड क्यान्सर अर्थात् ल्यूकेमिया हो । विशेषगरी २ देखि १० वर्ष उमेर समूहका बालबालिकामा यो रोग बढी देखिने गरेको उनले बताइन् । त्यसपछि ब्रेन ट्युमर र अन्य प्रकारका क्यान्सर देखिने गरेका छन् ।
उनका अनुसार ब्लड क्यान्सर हुँदा शरीरमा बन्ने रगतका तत्त्वहरूमा समस्या आउँछ । बच्चामा अत्यधिक कमजोरी, थकान, बारम्बार संक्रमण हुनु, शरीरमा नीलडाम देखिनु, रगत बग्नुजस्ता लक्षण देखिन सक्छन् । यस्ता संकेत देखिए तत्काल चिकित्सकको सल्लाह लिन आवश्यक हुने उनले बताइन् ।
त्यस्तै, ब्रेन ट्युमर भएका बालबालिकामा आँखा धमिलो देख्ने, बिहान उठ्नेबित्तिकै वाकवाक लाग्ने, हिँड्दा सन्तुलन बिग्रिने, बारम्बार लड्ने जस्ता समस्या देखिन सक्छन् । पहिले सामान्य रूपमा हिँड्ने बच्चा अचानक असन्तुलित हुन थालेमा त्यसलाई सामान्य ठानेर बेवास्ता गर्न नहुने चिकित्सकहरूको सुझाव छ ।
ल्यूकेमियाका बिरामीमा घाँटी, कान पछाडि वा काखीमा गाँठागुठी देखिने समस्या पनि हुनसक्छ । साना बालबालिकामा आँखाको क्यान्सरसमेत देखिने भएकाले आँखामा सेतो दाग, रातोपन वा असामान्य चमक देखिएमा तुरुन्त परीक्षण गराउनुपर्ने चिकित्सकहरूको भनाइ छ ।
डा. पण्डितका अनुसार क्यान्सर जुनसुकै उमेर समूहका बालबालिकामा पनि देखिन सक्छ । पहिले किशोर अवस्थामा बढी देखिने भनिएका केही क्यान्सर अहिले साना उमेर समूहमा पनि देखिन थालेका छन् । विज्ञान र प्रविधिको विकाससँगै उपचार पद्धतिमा धेरै सुधार आएको र नेपालमै प्रभावकारी उपचार सम्भव भएको उनले बताइन् ।
उनले नेपालमै उपचार गरेर सयौं बालबालिका अहिले सामान्य जीवन बिताइरहेको जानकारी दिँदै केही डाक्टर, इन्जिनियर तथा विदेशमा अध्ययन गरिरहेका उदाहरण पनि रहेको बताइन् । अहिले केमोथेरापी, सर्जरी र रेडियोथेरापीजस्ता सेवा नेपालमै उपलब्ध भएकाले बिरामीलाई सहज भएको उनको भनाइ छ ।
क्यान्सर शब्द सुन्नासाथ धेरै मानिस डराउने गरे पनि समयमै उपचार सुरु गरिए ८० देखि ९० प्रतिशतसम्म बाल क्यान्सर निको हुने सम्भावना रहने चिकित्सकहरू बताउँछन् । तर उपचारका क्रममा संक्रमण ठूलो जोखिम हुने भएकाले सरसफाइ र सावधानीमा विशेष ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ ।
बालबालिकामा क्यान्सर हुने मुख्य कारण यकिन भइनसकेको चिकित्सकहरूले बताएका छन् । जंकफुड, अस्वस्थ जीवनशैली, वातावरणीय असर तथा केही अवस्थामा जेनेटिक कारण पनि जिम्मेवार हुनसक्ने अनुमान गरिएको छ । त्यसैले बालबालिकाको खानपान, नियमित व्यायाम र स्वास्थ्य परीक्षणमा अभिभावकले विशेष ध्यान दिनुपर्ने सुझाव चिकित्सकहरूको छ ।
हाल नेपालभर देखिने १४–१५ सय बाल क्यान्सर बिरामीमध्ये करिब ४ देखि ५ सय मात्र उपचारको पहुँचमा आइरहेको चिकित्सकहरूको भनाइ छ । बाँकी धेरै बिरामी उपचार खर्च र डरका कारण अस्पतालसम्म नपुग्ने अवस्था रहेको बताइन्छ ।
चिकित्सकहरूका अनुसार कुनै पनि असामान्य लक्षणलाई बेवास्ता नगरी समयमै परीक्षण र उपचार गराउन सके अधिकांश बालबालिकाले पूर्ण रूपमा स्वस्थ जीवन बिताउन सक्छन् ।