काठमाडौं : विपन्न, असहाय तथा वेवारिसे बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले देशभरका सरकारी तथा निजी अस्पतालमा निःशुल्क शैय्या व्यवस्था लागू गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हाल देशभर ३ हजार २६४ बेड निःशुल्क उपचारका लागि छुट्याइएको छ ।
मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको अनलाइन प्रणालीमा सार्वजनिक तथ्यांकअनुसार देशभरका अस्पतालमा रहेका कुल १८ हजार ४२४ शैय्यामध्ये १० प्रतिशत बेड विपन्न तथा लक्षित वर्गका नागरिकका लागि निःशुल्क राखिएको हो । सरकारले निजी अस्पताललाई समेत यो व्यवस्था अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ ।
सार्वजनिक विवरणअनुसार हाल निःशुल्क उपचारका लागि छुट्याइएका ३ हजार २६४ बेडमध्ये १३५ बेड मात्रै प्रयोगमा रहेका छन् । बाँकी ३ हजार १२९ बेड अझै खाली अवस्थामा रहेको देखिएको छ । यसले धेरै अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध भए पनि सेवाग्राहीसम्म यसको पहुँच र जानकारी पर्याप्त रूपमा नपुगेको संकेत गरेको छ ।
नेपालको संविधान २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने मौलिक हक सुनिश्चित गरेको छ । यही संवैधानिक अधिकारलाई कार्यान्वयन गर्ने उद्देश्यले सरकारले विपन्न, असहाय, बेवारिसे तथा लक्षित वर्गका नागरिकलाई उपचारमा सहज पहुँच दिलाउन निजी अस्पतालमा समेत १० प्रतिशत शैय्या निःशुल्क राख्ने व्यवस्था गरेको हो ।
सरकारले स्वास्थ्य संस्थाहरूलाई सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गर्दै आएको छ । मन्त्रालयका अनुसार आर्थिक अवस्था कमजोर भएका बिरामी, सहाराविहीन व्यक्ति तथा आकस्मिक उपचार आवश्यक परेका नागरिकलाई लक्षित गरी यो व्यवस्था लागू गरिएको हो ।
मन्त्रालयले यो प्रणालीलाई थप पारदर्शी, पहुँचयोग्य र प्रभावकारी बनाउन अनलाइन अनुगमन प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ । उक्त प्रणालीमार्फत प्रदेश, जिल्ला र अस्पतालअनुसार निःशुल्क बेडको उपलब्धता, प्रयोगको अवस्था तथा सेवा लिइरहेका बिरामीको विवरण हेर्न सकिने व्यवस्था गरिएको छ ।
सरकारले डिजिटल प्रणाली लागू भएपछि निःशुल्क शैय्या व्यवस्थामा हुने अनियमितता कम हुने र वास्तविक सेवाग्राहीले सहज रूपमा उपचार पाउने अपेक्षा गरेको छ । यसअघि कतिपय निजी अस्पतालले निःशुल्क बेडको व्यवस्था कागजमै सीमित राख्ने गरेको गुनासो आउने गरेको थियो । अनलाइन प्रणालीमार्फत अब नागरिकले कुन अस्पतालमा निःशुल्क बेड उपलब्ध छ भन्ने जानकारी तत्कालै प्राप्त गर्न सक्ने बताइएको छ ।
स्वास्थ्य क्षेत्रका जानकारहरूले भने यस्तो व्यवस्था प्रभावकारी बनाउन नियमित अनुगमन, जनचेतना अभिवृद्धि र स्थानीय तहसम्म सूचना प्रवाह आवश्यक रहेको बताएका छन् । धेरै नागरिकलाई अझै पनि अस्पतालमा निःशुल्क उपचारको व्यवस्था रहेको जानकारी नहुँदा लक्षित वर्ग सेवा लिनबाट वञ्चित हुने गरेको उनीहरूको भनाइ छ ।
मन्त्रालयले आगामी दिनमा सबै अस्पताललाई प्रणालीमा आबद्ध गराउँदै सेवा प्रवाहलाई अझ व्यवस्थित बनाइने जनाएको छ । साथै निःशुल्क उपचारका लागि छुट्याइएका बेडको दुरुपयोग हुन नदिन कडाइका साथ अनुगमन गरिने पनि मन्त्रालयको भनाइ छ ।