काठमाडौं: नेपाली कांग्रेसभित्र नेतृत्वसँगको असन्तुष्टिले नयाँ मोड लिएको छ। पूर्वसभापति शेरबहादुर देउवा निकट समूहले नयाँ राजनीतिक दल गठनको प्रक्रिया अघि बढाउन सोमबार निर्णायक बैठक बोलाएको छ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने बैठकले राष्ट्रिय भेला आयोजना गर्ने तथा नयाँ पार्टी दर्ताको प्रक्रिया अगाडि बढाउने विषयमा निर्णय गर्ने तयारी गरेको देउवा पक्षका नेता मीन विश्वकर्माले जानकारी दिएका छन्।
यद्यपि प्रस्तावित नयाँ दलको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा भने समूहभित्र अझै सहमति जुट्न सकेको छैन। नेतृत्व चयनबारे थप छलफल आवश्यक रहेको नेताहरूको भनाइ छ।
यता सभापति गगन थापा पक्षले भने पार्टीलाई विभाजनभन्दा एकतामार्फत अघि बढाउने प्रयास जारी रहेको जनाएको छ। १५औँ महाधिवेशनलाई सहमतिमूलक बनाउने प्रयास भइरहेको उल्लेख गर्दै पुरानो केन्द्रीय समितिलाई पूर्ण रूपमा यथावत् राख्न नसकिने आफ्नो अडान दोहोर्याएको छ।
देउवा समूहभित्र समेत पार्टी विभाजनको विषयमा एउटै धारणा बनेको छैन। केही नेताहरूले कांग्रेसको रुख चुनाव चिह्न र चारतारे झण्डा नत्याग्ने तथा पार्टीभित्रै रहेर राजनीतिक संघर्षलाई निरन्तरता दिने पक्षमा आफूहरू रहेको बताएका छन्।