कार्कीको कटाक्ष : ‘मलाई होइन, बालेनकी श्रीमतीलाई आमा भन्नुस्’

काठमाडौं :  संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पदका लागि सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच दूरी बढ्दै गएको चर्चा सुरु भएको छ। चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको विषयमा कार्कीले सार्वजनिक रूपमै असन्तुष्टि जनाउँदै आएकी छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग भएको छोटो संवादले पनि उनी र प्रधानमन्त्री शाहबीच सम्बन्ध चिसिँदै गएको संकेत दिएको भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।

जेनजी आन्दोलनपछि शाह र कार्कीबीच निकट सम्बन्ध देखिएको थियो। प्रधानमन्त्री शाहले सार्वजनिक रूपमा कार्कीलाई ‘आमा’ भनेर सम्बोधन गर्दै आएका थिए भने अन्य जेनजी अभियन्ताले पनि उनलाई त्यही रूपमा सम्बोधन गर्ने गरेका थिए। शाहको शपथ ग्रहण समारोहमा कार्कीले अँगालो हालेको तस्बिरसमेत सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो।

तर पछिल्लो समय प्रधानन्यायाधीश सिफारिस प्रक्रियामा विधि र परम्परा मिचिएको भन्दै कार्कीले असन्तुष्टि पोख्दै आएकी छन्।

यही क्रममा शनिबार कार्यक्रमस्थलबाट बाहिरिने बेला एक सञ्चारकर्मीले उनलाई ‘आमा दर्शन’ भन्दै सम्बोधन गरेका थिए। त्यसलगत्तै कार्कीले ‘कोले आमा भनेको ?’ भन्दै प्रतिक्रिया दिइन्। सञ्चारकर्मीले आफूले भनेको बताएपछि उनले ‘तिमीहरूको आमा त फेरिसक्यो’ भन्दै कटाक्ष गरिन्।

सञ्चारकर्मीले ‘आमा फेरिँदैन’ भनेपछि कार्कीले ‘बालेनको श्रीमतीलाई आमा भन’ भनेर जवाफ दिएकी थिइन्। त्यसपछि वातावरण केही असहज बने पनि उनले हाँस्दै ‘आमा होइन र ? बच्चाको आमा होइन ?’ भन्दै माहोललाई हल्का बनाएकी थिइन्।

त्यहाँ उपस्थित सञ्चारकर्मी र सर्वसाधारण पनि त्यसपछि हाँसेका थिए। थप प्रश्नको जवाफ नदिई कार्की हाँस्दै बाहिरिएकी थिइन्।

उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन्। केहीले यसलाई सामान्य मजाकका रूपमा लिएका छन् भने कतिपयले कार्की र प्रधानमन्त्री शाहबीच सम्बन्ध बिग्रँदै गएको संकेतका रूपमा टिप्पणी गरेका छन्।

Comments (0)
Add Comment