काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले एसियन गेम्स महिला क्वालिफायर तथा एसीसी महिला प्रिमियर कपका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली घोषणा गरेको छ । बुधबार सार्वजनिक गरिएको टोलीमा तीन खेलाडी परिवर्तन गरिएको छ ।
क्यानले रचना चौधरी, रोमा थापा र सुमन विष्टलाई बाहिर राख्दै सीता रानामगर, सोनी पाखरिन र सिमा केसीलाई टोलीमा समावेश गरेको हो । टोलीको कप्तानी इन्दु बर्माले गर्नेछिन् भने पूजा महतो उपकप्तानको जिम्मेवारीमा रहनेछिन् ।
टोलीमा विन्दु रावल, सम्झना खड्का, रुबि पोद्दार, कविता कुँवर, कविता जोशी, रिया शर्मा, अनु कडायत, मनिषा उपाध्याय र रुबिना क्षेत्रीले निरन्तरता पाएका छन् । यस्तै वैकल्पिक खेलाडीका रूपमा सावित्री धामी, सोमु बिस्ट, सना परवीन र लक्ष्मी साउदलाई राखिएको छ ।
एसियन गेम्स महिला क्वालिफायर मे २३ देखि ३१ सम्म सञ्चालन हुनेछ भने एसीसी महिला प्रिमियर कप जुन १ देखि १३ सम्म आयोजना हुने तय भएको छ । दुवै प्रतियोगिता मलेसियामा हुनेछन् ।
एसियन गेम्स क्रिकेटतर्फ भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश यसअघि नै छनोट भइसकेका छन् । बाँकी चार स्थानका लागि हुने छनोट प्रतियोगितामा नेपालले प्रतिस्पर्धा गर्न लागेको हो ।