‘नेताको चाकडी होइन, जनताको सेवा गर’ : कर्मचारीलाई गृहमन्त्रीको चेतावनी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रसेवक कर्मचारीहरूलाई राजनीतिक दलको प्रभावमा नपर्न र नेताहरूको चाकडीभन्दा जनताको सेवामा केन्द्रित हुन कडा चेतावनी दिएका छन्।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले कर्मचारीको मुख्य जिम्मेवारी देश र जनताको सेवा गर्नु रहेको स्पष्ट पारेका हुन्।

सरकार गठन भएदेखि नै कर्मचारी प्रशासनलाई राजनीतिक दलको झोला बोक्ने नभई जनताको सेवामा समर्पित हुन आग्रह गर्दै आएको उल्लेख गर्दै उनले अझै पनि केही कर्मचारीमा राजनीतिक गतिविधिमा संलग्न हुने र नेताको चाकडी गर्ने प्रवृत्ति रहे त्यसलाई तत्काल त्याग्न चेतावनी दिएका छन्।

उनले आफ्नो पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने कर्मचारीमाथि कानुनअनुसार कडा कारबाही गरिने बताएका छन्। यस्तो विषयमा कुनै सम्झौता नहुने उनको भनाइ छ।

गुरुङका अनुसार सरकारलाई राजनीतिक दल वा नेताको स्वार्थ पूरा गर्ने कर्मचारी होइन, जनताको समस्या बुझ्ने, जिम्मेवारी पूरा गर्ने र देशप्रति इमानदार राष्ट्रसेवक आवश्यक छन्।

‘गुड मर्निङ’ स्टाटसले फेरि चर्चा

गृहमन्त्री गुरुङका बिहानै सार्वजनिक हुने फेसबुक स्टाटस यसअघि पनि राजनीतिक तथा सामाजिक वृत्तमा चर्चाको विषय बन्दै आएका थिए।

गत चैतमा पहिलोपटक गृहमन्त्री बनेपछि उनले बिहानै ‘गुड मर्निङ’ वा ‘गुड मर्निङ नेपाल’ लेखेर स्टाटस सार्वजनिक गर्ने र त्यसपछि उच्चपदस्थ व्यक्तिहरूको पक्राउ तथा कारबाहीका घटनाहरू सार्वजनिक हुने क्रमले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको थियो।

त्यसक्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक तथा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललगायतका पक्राउ र अनुसन्धानका विषयसँग उनका स्टाटस जोडेर चर्चा गरिएको थियो।

उनका बिहानका पोस्ट देखिएपछि सामाजिक सञ्जालमा सरकार वा प्रहरीले कुनै नयाँ कदम चाल्न लागेको हो कि भन्ने अड्कलबाजीसमेत हुने गरेको थियो।

गुरुङको यस्तो शैलीलाई समर्थकहरूले सुशासन र भ्रष्टाचारविरुद्धको सक्रियताका रूपमा व्याख्या गरेका थिए भने आलोचकहरूले पदीय मर्यादा र अनुसन्धानको गोपनीयतामाथि प्रश्न उठाउँदै आलोचना गरेका थिए।

पछि बिचौलिया दीपक भट्टसँगको व्यापारिक सम्बन्ध तथा जग्गा विवादसँग जोडिएको प्रकरणपछि राजीनामा दिएका गुरुङ छानबिनपश्चात् जेठ २६ गते पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किएका थिए। त्यसयता उनका साङ्केतिक ‘गुड मर्निङ’ र ‘काउन्टडाउन’ शैलीका पोस्टहरू सार्वजनिक हुन छाडेका छन्।

यसपटक भने उनले कर्मचारी प्रशासनमा राजनीतिक हस्तक्षेप र नेताको चाकडी गर्ने प्रवृत्तिलाई लक्षित गर्दै कडा सन्देश दिएका छन्।

Comments (0)
Add Comment