एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा नेपाल पराजित, थाइल्याण्ड ५७ रनले विजयी

एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको छ। जितका लागि १३१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो।

 

 

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २० रन बनाइन्। उनले २३ बलमा ३ चौका प्रहार गरिन्। सोनी पाख्रिनले १५ रन जोड्दा सम्झना कुमारी र सीता राना मगरले समान १२–१२ रनको योगदान दिए।

थाइल्याण्डका बलर थिपाचा पुथावोङ, सुनिता चतुरोङराताना र सुलिपोर्न लाओमीले समान २–२ विकेट लिए। फानिता मायाले १ विकेट हात पारिन्।

यसअघि क्वालालम्पुरस्थित बायुएमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३० रन बनाएको थियो।

थाइल्याण्डको जितमा विकेटकिपर नानापट खाचारेनकाइले अर्धशतकीय इनिङ्स खेलिन्। उनले ५१ बलमा ६ चौकाको मद्दतले ६२ रन बनाइन्। ओपनर फानिता मायाले २१ बलमा २६ रन जोड्दा चानिदा सुथिरुवाङले १६ रनको योगदान दिइन्।

नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले समान १–१ विकेट लिए।

यस जितसँगै थाइल्याण्ड प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ भने नेपालको उपाधि यात्रा क्वार्टरफाइनलमै टुंगिएको छ।

Comments (0)
Add Comment