कुकुरले सुँघेरै पत्ता लगाउँछ कोरोना संक्रमण!

Avatar

८ आश्विन २०७७, बिहीबार १७:०३ मा प्रकाशित

मालिका खबर

  • 28
    Shares

फिनल्यान्डको हेल्सिन्की एयरपोर्टमा जम्मा १० सेकेन्डमै यात्रुहरूको कोरोना परीक्षण हुने भएको छ। रोचक कुरा त, यो परीक्षण गर्न यात्रुको मुखबाट स्वाब झिकिरहनु पर्दैन।

तपाईंहरूलाई स्वाब नझिकी कसरी कोरोना परीक्षण गर्ने भन्ने लाग्दो हो!हेल्सिन्की एयरपोर्टले प्रशिक्षणप्राप्त कुकुर प्रयोग गरेर कोरोना परीक्षण सुरू गरेको हो। बुधबारदेखि एयरपोर्टमा दुईवटा कुकुर खटाइएका छन्। ती कुकुरले यात्रुको पसिनाको गन्ध सुँघ्छन् र त्यसै आधारमा संक्रमण छ कि छैन पत्ता लगाउँछन्।अहिलेलाई यो प्रयोग मात्र हो। यसले प्रभावकारी काम गर्छ कि गर्दैन भनेर प्रमाणित हुन बाँकी छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा पुनःसञ्चालनसँगै एयरपोर्टहरूले यात्रुको सुरक्षाका लागि विभिन्न कार्यक्रम ल्याउँदै छन्। कोरोना परीक्षण गर्न एयरपोर्टमै ज्वरो नाप्ने, स्वाब जाँच्ने, र्‍याल स्क्रिनिङ लगायत विधि अपनाइँदै आएको छ।

फिनल्यान्डको हेल्सिन्की विमानस्थलमा कोरोना संक्रमित यात्रु पत्ता लगाउन तालिमप्राप्त कुकुर। तस्बिर: न्यूयोर्क टाइम्स

कुकुरको प्रयोग त्यसैको एउटा कडी हो।फिनल्यान्डका अध्ययनकर्ताले संक्रमण परीक्षणमा कुकुरको प्रयोग सजिलो, सस्तो र प्रभावकारी हुने दाबी गरेका छन्।यात्रुहरू एयरपोर्ट प्रवेश गरेसँगै उनीहरूको सामान व्यवस्था गरिन्छ। त्यसपछि उनीहरूलाई मुख र घाँटी पुछ्न लगाइन्छ। यसरी पुछ्दा पसिनाको गन्ध टिस्यू पेपरमा सर्छ। यात्रुले त्यो पेपर डब्बामा राख्छ।

त्यसपछि सुरू हुन्छ कुकुरको काम।यात्रुले पसिना पुछेको पेपर कुकुरलाई सुँघ्न लगाइन्छ। अध्ययनकर्ताका अनुसार तालिमप्राप्त कुकुरले १० सेकेन्डमै संक्रमित व्यक्ति पत्ता लगाउँछ। यात्रु एयरपोर्ट पुगेदेखि यो प्रक्रिया पूरा हुन जम्मा एक मिनेट लाग्ने उनीहरू दाबी गर्छन्।

कुकुरले सुँघेर पत्ता लगाएको संक्रमित यात्रुलाई तुरुन्तै एयरपोर्टको हेल्थ सेन्टरमा पिसिआर परीक्षण गर्न पठाइन्छ। यो परीक्षण निःशुल्क हुनेछ।

कुकुर नै किन?

कुकुरको सुँघ्ने क्षमता तीखो हुन्छ। लामो समयेखि एयरपोर्टमा बम, लागूपदार्थ र अन्य वस्तु जाँच्न कुकुरहरू प्रयोग गरिँदै आएको छ। कुनै समय कुकुरले क्यान्सर र मलेरियाजस्ता रोग पनि पत्ता लगाएका थिए।कुकुरबाट हुने कोरोना परीक्षण अनुगमन गरिरहेको हेल्सिन्की विश्वविद्यालयकी आना हेल्म बिज्रोकम्यानका अनुसार अहिलेको महामारी बेला यी प्रशिक्षणप्राप्त कुकुर प्रयोग गर्नु सजिलो हुनेछ।’

अहिलेसम्मको परीक्षण गर्दा कुकुरहरूले आफ्नो काम राम्ररी गरिरहेका छन्,’ उनले भनिन्।प्रशिक्षणप्राप्त कुकुरले पहिलो चरणमा लक्षण नदेखिएका कोरोना संक्रमित पत्ता लगाउने छन्। भन्नुको मतलब, कुनै व्यक्तिलाई कोरोना संक्रमण छ तर लक्षण देखिएको छैन भने यस्ता कुकुरले सुँघेर पत्ता लगाउँछन्।

अहिलेसम्म लक्षण नदेखिएका बिरामीको पहिचान पिसिआरबाट मात्र हुँदै आएको थियो।जर्मनको भेटरिनिरी मेडिसिन हन्नोवर विश्वविद्यालयले यही जुलाईमा गरेको अध्ययनअनुसार कुकुरले मान्छेको र्‍यालबाट आउने गन्ध सुँघेर ऊ संक्रमित छ कि छैन पत्ता लगाउन सक्छ। यसका लागि कुकुरलाई एक साताको प्रशिक्षण दिनुपर्छ।

कुकुरबाट गरिने कोरोना परीक्षण ९४ प्रतिशत सफल भएको अध्ययनमा देखिएको थियो।केही कुकुरलाई कोरोना संक्रमण भएको पाइए पनि उनीहरूलाई सजिलै भाइरस सर्दैन भन्ने अध्ययनहरूले देखाएको छ। त्यस्तै, कुनै कुकुर संक्रमित छ भने पनि त्यसबाट मान्छेमा भाइरस सर्छ भन्ने कुनै प्रमाण छैन। बिरालोमा भने यो भाइरस छिट्टै फैलिने डर हुन्छ। बिरालो निकै संवेदनशील प्राणीमा वर्गीकरण गरिएको छ।

कुकुरले संक्रमित कसरी पत्ता लगाउँछ?

हेल्सिन्की विश्वविद्यालयको भेटरिनरी विभागअनुसार भाइरस पहिचान गर्न तालिमप्राप्त कुकुरले मान्छेको पसिना वा पिसाबको गन्ध सुँघेर ती व्यक्ति संक्रमित छ कि छैन पत्ता लगाउँछ। कुकुरले आफूलाई सुँघाएको नमूनामा भाइरसको गन्ध फेला पार्यो भने उसले तुरून्तै संकेत दिन्छ।

विश्वविद्यालयकी हेल्म बिज्रोकम्यान र उनको टोलीले ती कुकुरलाई भाइरसको गन्ध चिन्न मात्र होइन, संक्रमित व्यक्ति फेला परे कसरी संकेत गर्ने भन्ने प्रशिक्षण पनि दिएको छ।नमूना पोजेटिभ भएको संकेत दिन कुकुरले विशेष आवाज निकाल्छ भने नेगेटिभ नमूनामा कुनै संकेत गर्दैन।

ऊ त्यो नमूना सरक्क छाडेर अर्को नमूना सुँघ्न थाल्छ।कोरोना भाइरसको छुट्टै गन्ध हुने र संक्रमित व्यक्तिमा त्यही गन्ध पाइने विभिन्न अध्ययनकर्ताले बताएका छन्। तर, कुकुरले सुँघ्दा ठ्याक्कै के पत्ता लगाउँछ भन्ने प्रस्ट नभएको हेल्म बताउँछिन्।हेल्मको टोलीलाई यो काममा एक फिनिस संस्थाले सहयोग गरेको छ।

संस्थाले एकैपटक १६ वटा कुकुरलाई प्रशिक्षण दिएको थियो। तीमध्ये ४ वटा कुकुर यसै सातादेखि एयरपोर्टमा खटिनेछन्। छवटा कुकुर प्रशिक्षणमै छन्। बाँकी कुकुरले हल्लाखल्ला भएको ठाउँमा काम गर्न सकेका छैनन्।’हरेक प्रजातिको कुकुरलाई कोरोना भाइरस पत्ता लगाउने प्रशिक्षण दिन सकिन्छ।

तर, ती सबैले एयरपोर्टमा काम गर्न सक्छ भन्ने हुँदैन,’ यो प्रशिक्षणमा प्रायोजक रहेको एभिडेन्सिया अस्पताल तथा भेटरिनरी क्लिनिकका प्रतिनिधि भिर्पी पेरालाले भनेकी छन्। सेतोपाटीबाट

तपाइँको प्रतिक्रिया