७६ हजार गाईभैंसीमा लम्पी स्किन विरुद्ध खोप लगाइँदै

काठमाडौँ: बागमती प्रदेश सरकारले भोलीदेखि प्रदेशका १३ जिल्लामा गाईभैंसीमा लाग्ने लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुमा लम्पी स्किन रोगको संक्रमण हुन नदिन भोलीदेखि साउन ३१ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको हो । यस अभियान अन्तर्गत प्रदेशका ७६ हजार २ सय ७५ गाईभैंसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउने तयारी रहेको बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

स्थानीय तहको समन्वयमा पशु सेवा कार्यालय मार्फत खोप अभियान सञ्चालन हुने मन्त्रालयका सचिव विनोद कुमार भट्टराईले जानकारी दिनुभयो । प्रदेशमा लम्पी स्किन रोग देखा परेपनि महामारीको रुप भने नलिएको उहाँले बताउनुभयो ।

यो रोग नियन्त्रणका लागि प्रभावकारी उपाय नै खोप भएकाले खोप अभियान महत्वपूर्ण कदम हुने कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले बताउनुभयो ।

लम्पी स्किनविरुद्धको खोप अभियान सञ्चालन निर्णय गर्दै मन्त्रालयको कार्यभार सम्हाल्नुभएका मन्त्री श्रेष्ठले रोग नियन्त्रण भन्दा पनि निर्मुल पार्ने उद्देश्यले खोप दिन लागिएको दाबी गर्नुभयो ।

Comments (0)
Add Comment