१५ प्रतिशत पर्यटन आम्दानी बढाउने लक्ष्यसहित पर्यटन बोर्डले १ अर्ब ६० करोडको बजेट ल्यायो, ११ करोडमा दुई प्रादेशिक कार्यालय स्थापना गर्ने

काठमाडौं:  नेपाल पर्यटन बोर्डले आगामी वर्षका लागि सार्वजनिक गरेको १ अर्ब ६० करोड रुपैयाँको बजेटमा पर्यटन आम्दानीलाई १५ प्रतिशतले बढाउने लक्ष्य राखिएको छ।

बोर्डका अनुसार, बजेटले देशमा पर्यटक आगमन, पर्यटन गतिविधि र समग्र पर्यटन क्षेत्रको आम्दानी वृद्धि गर्ने अपेक्षा गरिएको छ। बजेटमा प्रमुख प्राथमिकता पर्यटन बजार व्यवस्थापन र प्रवर्द्धनलाई दिइएको छ।

पर्यटन प्रवर्द्धनका लागि मात्रै ४३ करोड ६१ लाख रुपैयाँ छुट्याइएको छ। यसबाहेक, कर्मचारी र कार्यालय सञ्चालनमा २६ करोड २७ लाख, पर्यटन संरचना तथा सम्पदा विकासमा १८ करोड ६३ लाख, र प्रचार प्रसारमा १२ करोड १५ लाख विनियोजन गरिएको छ।

बोर्डले गण्डकी प्रदेशको पोखरामा क्षेत्रीय कार्यालय स्थापना गर्न ११ करोड ६६ लाख र अन्य नयाँ प्रादेशिक कार्यालय स्थापनामा ११ करोड १२ लाख खर्च गर्ने योजना बनाएको छ।

यस अतिरिक्त, विशेष प्रवर्द्धनात्मक कार्यक्रममा ४ करोड ६२ लाख, कार्यकारी समिति र सचिवालयमा ३ करोड, तथा अनुसन्धान, योजना र अनुगमनका लागि २ करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

बोर्डले जनाएअनुसार यो बजेट मुलुकको पर्यटन क्षेत्रमा सुधार ल्याउने र आयमा उल्लेखनीय वृद्धि गराउने अपेक्षासहित ल्याइएको हो।

Comments (0)
Add Comment