बैतडी । लगातारको हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ र देहिमाडौँ क्षेत्रमा परेको हिमपातले दशरथचन्द र जयपृथ्वी राजमार्ग गएरातिदेखि नै पूर्ण रूपमा ठप्प बनेका हुन्।
रातिदेखि नै सवारी आवागमन बन्द हुँदा यात्रु र मालवाहक सवारी साधन अलपत्र परेका छन्। बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार हिमपातका कारण सडकसँगै विद्युत् सेवा पनि अवरुद्ध भएको छ। “रातिको भारी हिमपातले राजमार्ग र विद्युत् सेवा ठप्प बनाएको छ, पुनः सञ्चालनका लागि पहल भइरहेको छ,” उनले बताए।
यस्तै, डडेलधुराको साहुखर्क र हगुल्टेललगायत क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ। शुक्रबार बेलुकादेखि बैतडीसहित दार्चुला, बझाङ, डोटी र डडेलधुराका उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भइरहेको छ।
यस वर्ष पहिलोपटक परेको हिउँदे वर्षा र हिमपातले यहाँका किसान भने उत्साहित भएका छन्। विगत चार महिनादेखि वर्षा नहुँदा हिउँदे बाली सुक्दै गएकामा हालको वर्षा र हिमपातले बाली सप्रिने अपेक्षामा किसान खुसी भएका छन्। यद्यपि, हिमपातका कारण अत्यधिक चिसो बढेपछि दैनिक जनजीवन भने प्रभावित भएको छ।