काठमाडौं: नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले नेपालको हवाई सेवा देशको कूटनीतिक छवि निर्माणमा अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसद किराँतीले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ को सैद्धान्तिक छलफलमा भाग लिँदै, हवाई क्षेत्रको सुधार अपरिहार्य भएको उल्लेख गरे।
उनले भने, “हवाई सेवा भनेको देशको कूटनीति हो, देशको छवि हो। यो विधेयक प्रभावकारी सेवा र विकासका लागि अत्यन्त आवश्यक छ। तर १२ वर्ष बितिसक्दा पनि विधेयक टुंगिएको छैन।”
सांसद किराँतीले नेपाल अझै पनि युरोपेली युनियनको ‘कालोसूची’मा रहेको जनाउँदै यसले नेपाललाई अन्तर्राष्ट्रिय रूपमा “कामै नगर्ने देश” भन्ने सन्देश गएको धारणा राखे।
“नेपाल ध्वजावाहक नेपाल वायुसेवा निगममात्रै प्रभावित छ, अरू निजी वा विदेशी जहाजहरू भने रोकिएका छैनन्। हिमालयन एयरलाइन्ससँग जहाज छैन, नेपाल एयरलाइन्सलाई मात्रै असर परेको छ,” उनले स्पष्ट गरे।
सांसद किराँतीले विधेयकलाई पारित गर्ने क्रममा हतारमा त्रुटिपूर्ण बनाउने काम हुनु नहुने भन्दै सचेत रहन आग्रह पनि गरे।