सैफ अली खान आक्रमणमा चक्कु प्रहार गर्ने व्यक्ति बंगलादेशी हुनसक्ने प्रहरीकाे आशंका

काठमाडौं : बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार प्रकरणमा मुम्बई प्रहरीले आरोपीलाई पक्राउ गरेको छ। प्रहरीले शनिबार राति महाराष्ट्रको ठाणेको हिरानन्दीबाट आरोपीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।  चक्कु प्रहार गर्ने व्यक्ति बंगलादेशी हुनसक्ने प्रहरीकाे आशंका छ ।

 

भारतीय सञ्चारमाध्यमका अनुसार अभियुक्तको नाम विजय दास हो। ‘पक्राउ परेका अभियुक्त विजय दास एक रेस्टुरेन्टमा काम गर्थे र उनले अपराध स्वीकार गरेका छन्,’ समाचार एजेन्सी एएनआईले मुम्बई प्रहरीलाई उद्धृत गर्दै भनेको छ। मुम्बई प्रहरीले आज (आइतबार) बिहान अभियुक्तलाई सार्वजनिक गर्दै घटनाबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्ने तयारी गरेको छ।

१६ जनवरीको राति सैफ अली खानको मुम्बईको बान्द्रास्थित निवासको १२ औं तल्लामा आक्रमण भएको थियो। चोरी गर्ने प्रयासमा आक्रमणकारीले धेरै पटक सैफलाई चक्कु प्रहार गरेका थिए। उनको उपचार मुम्बईको लीलावती अस्पतालमा भइरहेको छ।

चिकित्सकहरूले सैफको मेरुदण्डबाट भाँचिएको चक्कुको टुक्रा निकालेका छन्। उपचारमा संलग्न चिकित्सकका अनुसार सैफको स्वास्थ्य अवस्था स्थिर रहेको छ र उनी छिट्टै डिस्चार्ज हुनेछन्।

शनिबारको अनुसन्धानमा प्रहरीले सैफको घरबाट भाँचिएको चक्कुको टुक्रा बरामद गरेको थियो। मुम्बई प्रहरीले सैफकी पत्नी तथा अभिनेत्री करिना कपुर खानको बयान लिएको छ। करिना कपुरले आक्रमणकारी घरमा प्रवेश गरेपछि सैफमाथि आक्रमण गरिए पनि धनमाल नलुटिएको बताएकी छिन्।

अभियुक्त हाल हिरासतमा छन्। मुम्बई प्रहरीले आरोपीको खोजी गरिरहेको थियो। यसअघि मुम्बई प्रहरीले बान्द्रा प्रहरी चौकीमा सोधपुछको लागि एक व्यक्तिलाई नियन्त्रणमा लिएर छोडेको थियो। प्रहरीले ती व्यक्ति उक्त आक्रमणसँग सम्बन्धित नभएको पुष्टि गरेको छ। शुक्रबार, मुम्बई प्रहरीले यस सम्बन्धमा सोधपुछको लागि एक संदिग्धलाई बान्द्रा प्रहरी चौकीमा पुर्‍याएको थियो।

Comments (0)
Add Comment