काठमाडौँ : नेपाल धितोपत्र बोर्डले सेयर बजारसँग सम्बन्धित जिज्ञासा, गुनासो तथा उजुरी निःशुल्क हटलाइनमार्फत गर्न लगानीकर्तालाई आग्रह गरेको छ।
‘वर्ल्ड इन्भेष्टर विक २०२५’ को अवसरमा सार्वजनिक गरिएको सूचनामार्फत बोर्डले लगानीकर्ताको पहुँच र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाएको हो। बोर्डका अनुसार सेयर लगानीकर्ताले आफ्ना जिज्ञासा, गुनासो तथा उजुरीहरू सहज रूपमा दर्ता गर्न सकून् भन्ने उद्देश्यले निःशुल्क हटलाइन सेवा सञ्चालनमा ल्याइएको हो।
बोर्डले धितोपत्र लगानीसँग सम्बन्धित कुनै पनि जिज्ञासा, गुनासो वा उजुरी भएमा बोर्डको वेबसाइटमा रहेको ‘ग्रियाभेन्स’ बटनमार्फत, टोल फ्रि नम्बर १६६०–०१–४४३३ (निःशुल्क), हटलाइन नम्बर ०१–५४४४०७७ वा इमेलमार्फत जानकारी गराउन आग्रह गरेको छ। साथै, लगानीकर्ताले बोर्डको कार्यालय खुमलटार, ललितपुरमा प्रत्यक्ष रूपमा पनि उजुरी दर्ता गर्न सक्ने बोर्डले जनाएको छ।
धितोपत्र बोर्डले लगानीकर्ताको हित संरक्षण र सेयर बजारप्रति विश्वास अभिवृद्धि गर्न यस्ता सेवा प्रभावकारी रूपमा सञ्चालन गरिने बताएको छ।