काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारमाथि अध्यादेशको माध्यमबाट आर्थिक संस्थाहरू कब्जा गर्न खोजेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश, २०८१’ लाई अस्वीकार गर्न प्रस्ताव पेश गर्दै उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानूनको कार्यान्वयनमा सरकारको ध्यानाकर्षण गराए।
वाग्लेले वाइडबडी विमान खरिद प्रकरणमा ५५ मिलियन अमेरिकी डलर अनियमितता भएको अमेरिकाको न्याय विभागले प्रमाणित गरे पनि कारबाही प्रक्रिया अघि नबढेको उल्लेख गरे। उनले अदालत दलीय छायाँमा परेको र संवैधानिक निकायहरूमा भागबण्डा गर्दा मुलुकले थप संकटको सामना गर्नुपर्ने चेतावनी दिए। साथै, उनले सेबनको अध्यक्ष कसको प्रभावमा नियुक्त गरिएको हो भनी प्रश्न उठाए।