सवारी कर्जा बढ्दै

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा सवारी (हायर पर्चेज)मा १ खर्ब ५९ अर्ब २१ करोड रुपैयाँ ऋण लगानी गरेका थिए। त्यस वर्ष यस्तो कर्जा वार्षिक १.३१ प्रतिशतले बढेको थियो। तर, गत वर्ष भने ह्वात्तै घट्यो। आव २०८०/८१ मा हायर पर्चेज कर्जा वार्षिक २२.०५ प्रतिशतले घट्यो।

१ खर्ब २४ अर्ब १० करोड २४ लाख रुपैयाँमा यस्तो कर्जा खुम्चियो। आर्थिक वर्ष २०७९/८० भन्दा ३५ अर्ब ११ करोड ४० लाख रुपैयाँमात्रै यस्तो कर्जा कम गएको थियो। गत आर्थिक वर्ष अर्थतन्त्र गतिशील हुन नसकेको कारण सवारी कर्जा घटेको बैंकरहरू बताउँछन् ।

तर, यस वर्ष भने हायर पर्चेज कर्जा बढदै गएको बैंकरहरू बताउँछन्। सानिमा बैंकका रिटेल लेन्डिङ रिलेससनसिप म्यानेजर आभास पनेरू धेरैको रोजाइ विद्युतीय सवारी (ईभी) भएको कारण सवारी कर्जाको आकार बढेको बताउँछन्। ईभी आएसँगै इन्धन सवारी (आइस भेहिकल) लिने कि ईभीमा फड्को मारौं ? भन्ने ग्राहकमा दोधारेपनका कारण पनि गत आर्थिक वर्ष कर्जा घटेको उनको अनुमान छ।

उनका अनुसार पछिल्लो समयमा  बैंकले पनि ईभीलाई केन्द्रित गरेर प्रतिस्पर्धी ब्याजदर मूल्य तोकेको छ। ‘पछिल्लो समय सबैतिर ईभीको टार्गेट छ यसैले हायर पर्चेज कर्जा प्रवाहलाई आधार दरमा थोरै प्रिमियम थपेर ७ वर्षे स्थिर व्याजदर ८.४९ प्रतिशतमा कर्जा दिइरहेका छौं।

कर्जा लिन झन्झट पनि छैन। आय र करको विवरणजस्ता कागजपत्र पूरा भएपछि  हप्ता दिनभित्रै कर्जा पाउँछन्,’ पनेरूले भने।
बैंकअनुसार ५ वर्षे, ७ वर्षे र १० वर्षे स्थिर कर्जाको ब्याजदर निर्धारण गरिएको छ ।  वाणिज्य बैंकमा न्यूनतम ७.५४ प्रतिशतदेखि अधिकतम १२.५० प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।  विकास बैंकले न्यूनतम ८.१० प्रतिशतदेखि अधिकतम १६.४७ प्रतिशतसम्मको ब्याजदर निर्धारण गरेका छन्।

Comments (0)
Add Comment